- डा.अनाम प्याकुरेल / जनरल प्राक्टिसनर ।
शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ । छालाको कोष, दिमागको कोष र शरीरका अन्य तन्तुलाई सन्तुलन गर्ने तत्व भिटामिन बी हो । भिटामिन बी एउटा भएपनि यसभित्र धेरै प्रकार छन् । प्रत्येकको काम छुट्टै छ ।
भिटामिन बी वान (थियामिन)
कमी हुँदा देखिने लक्षण
भिटामिन बी वानको कमीले पाचनमा समस्या, झर्को लाग्ने, स्नायुसम्बन्धी समस्या, बान्ता हुने, धमिलो देख्ने, थकान, हातखुट्टा झमझम गर्ने समस्या देखिन्छ ।
स्रोत
भिटामिन बी वान होलग्रेन, ड्राइफ्रुट, बंगुर, पास्ता, चामल, ट्राउट माछा, भटमास लगायत खानेकुराबाट प्राप्त गर्न सकिन्छ ।
भिटामिन बी टु (रिबोफ्लाभिन)
यो भिटामिनको कार्य भनेको शरीरमा ऊर्जा उत्पादनमा मद्दत गर्ने, आँखाको ज्योति र छालाको स्वस्थतालाई यथावत राख्नु हो ।
कमी हुँदा देखिने लक्षण
थकान, डिप्रेसन, खानेकुरा निल्न गाह्रो हुने, छाला फुट्ने र चिलाउने, मुख वरपरको छालामा समस्या देखिने समस्या हुन्छ ।
स्रोत
दूध, दही, अण्डाको सेतो भाग, हरियो सागसब्जी, मासु भिटामिन बी टुका स्रोत हुन् ।
भिटामिन बी थ्री (नियासिन)
यसले कार्बोहाइड्रेट र फ्याटलाई ऊर्जामा रुपान्तरण गर्छ । जसकारण पाचन, छाला र स्नायुप्रणालीलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
कमी हुँदा देखिने लक्षण
भिटामिन बी थ्रीको कमी भएमा छाला सुन्निने, डिम्नेसिया, मुख सुक्खा हुने, जिब्रो रातो हुने, कब्जियत हुने, टाउको दुख्ने, रक्तसञ्चारमा समस्या, डायरिया हुने जस्ता समस्या देखा पर्छन् ।
स्रोत
माछा, मासु, दूध, अण्डा, ड्राइफ्रुट, च्याउ र प्रोटिनयुक्त खानेकुरामा भिटामिन बी थ्री पाइन्छ ।
भिटामिन बी फाइभ (प्यान्टोथेनिक एसिड)
भिटामिन बी फाइभमा हुने प्यान्टोथेनिक एसिड कार्बोहाइड्रेट, प्रोटिन, बोसोलाई ऊर्जामा बदल्न, रातो रक्तकोष र स्टोरियोड हर्मोनलाई उत्पादन गर्न आवश्यक छ ।
कमी हुँदा देखिने लक्षण
भिटामिन बी फाइभको कमी विरलै मात्रामा हुन्छ । यदि भएमा थकान, डिप्रेसन, पेट दुखाइ, खुट्टा पोल्नु, इन्सोमेनियाको समस्या देखिन्छन् ।
स्रोत
मासु, दूध, अण्डा, च्याउ, सूर्यमुखीको बियाँ र एभोकाडो भिटामिन बी थ्रीको स्रोत हुन् ।
भिटामिन बी सिक्स
प्रोटिन र कार्बोहाइड्रेटको मेटाबोलिजम, रातो रक्तकोषिका र केही मस्तिष्क रसायनहरुको कार्यका लागि आवश्यक छ । यसले मस्तिष्क प्रक्रिया तथा विकास, प्रतिरक्षा कार्य र स्टेरोइड हर्मोनको गतिविधिलाई प्रभाव पार्छ ।
कमी हुँदा देखिने लक्षण
छाला चिलाउनु, रातो हु्नु र पोल्नु, हात र खुट्टामा सियोले घोचे जस्तो हुनु, जिब्रो सुक्खा र रातो हुनु, कतिपयलाई छारेको लक्षण देखिन सक्छ ।
स्रोत
माछा, मासु, आलु, गेडागुडी, केरा, मेवा र गाढा हरियो भएका साग तथा फलफूलमा भिटामिन बी सिक्स पाइन्छ ।
भिटामिन बी सेभेन (बायोटिन)
खानेकुरालाई ऊर्जामा लाने, फ्याट, एमिनो एसिड र ग्लाइकोजन संश्लेषणको लागि यो भिटामिन आवश्यक छ । उच्च बायोटिनयुक्त खानेकुराले रगतमा कोलेस्टेरोल स्तर नियन्त्रण गर्न मद्दत गर्छ ।
कमी हुँदा देखिने लक्षण
भिटामिन बी सेभेनले कपाल झर्ने, मांसपेशी दुखाइ, कपाल झर्ने, नङ भाँचिने,डिप्रेसन जस्ता समस्या हुन्छ ।
स्रोत
अण्डा, गेडागुडी, ड्राईफ्रुट, सक्खरखण्ड, च्याउ, केरा, ब्रोकाउली र एभोकाडो यसका प्रमुख स्रोत हुन् ।
भिटामिन बी नाइन (फोलेट)
भिटामिन बी नाइनमा फोलेट वा फोलिक एसिड हुन्छ । यसको कार्य भनेको रातो रक्तकोषिका बनाउनु हो, जसले शरीरभर अक्सिजन पुर्याउँछ । यसले भ्रूणको स्नायु प्रणालीको विकास, साथै डीएनए संश्लेषण र कोषको वृद्धिमा मद्दत गर्छ । त्यसैले गर्भावस्थाको पहिलो त्रैमासिकसम्म फोलिक एसिड दिइन्छ ।
कमी हुँदा देखिने लक्षण
भिटामिन बी नाइनको कमीले थकान, जिब्रो सुन्निनु, रक्तअल्पताको समस्या आउन सक्छ ।
स्रोत
हरियो पत्तेदार तरकारी, फलफूल, कुखुरा, अण्डा यसका स्रोत हुन् ।
भिटामिन बी ट्वेल्भ
यो भिटामिनले स्नायु कोषिका, मानसिक क्षमता, रातो रक्तकोषिका बनाउन र ऊर्जा उत्पादन गर्न केही फ्याटी एसिड र एमिनो एसिड टुक्राउन मद्दत गर्छ ।
कमी हुँदा देखिने लक्षण
भिटामिन बी ट्वेल्भ थकान, अनुहारको रंग पहेंलो हुने, टाउको दुख्ने, डिप्रेसन, पाचनसम्बन्धी समस्या, मांसपेशी दुखाइ वा कमजोर हुने, आँखामा समस्या हुनसक्छ ।
स्रोत
माछामासु, गेडागुडी, एभोकाडो, दूधजन्य खानेकुरा, अण्डा, आलस जस्ता खानेकुरा यसका स्रोत हुन् ।
बी कम्प्लेक्स के हो ?
यी आठ प्रकारको भिटामिन मिलेर बनेको समूहलाई भिटामिन बी कमप्लेक्स भनिन्छ । एउटै खानेकुरामा पनि धेरैजसो भिटामिन बी पाइन्छ । धेरैजसोले थरीथरीका पोषक तत्व रहेका खानेकुराबाट पर्याप्त भिटामिन बी लिइरहेका हुन्छन् । यद्यपि, दैनिक खाने खानेकुराबाट यी भिटामिन नपाएकाहरुमा भिटामिन बी एउटा विकल्प हुनसक्छ ।
भिटामिन बीको अभाव किन हुन्छ ?
दीर्घरोग, मदिरा अत्यधिक सेवन, केही वंशाणुगत रोग, शाकाहारी हुनु तर अन्य पोषिलो तत्व कम खानु, पाचनमा समस्या, खानपानमा ध्यान नदिनु, अतिप्रशोधित खानेकुराले पनि भिटामिन बीको अभाव गराउन सक्छ ।
कस्तोलाई सप्लिमेन्ट आवश्यक पर्छ ?
६५ वर्षमाथि उमेरका व्यक्तिको शरीरले भिटामिन सोस्ने क्षमता कम हुन्छ । त्यस्तै पाचन रोग, न्युरोप्याथी समस्या, रक्तअल्पता, गर्भावस्था लागि भिटामिन बी सप्लिमेन्ट आवश्यक हुन्छ, जुन चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ ।