राप्तीसोनारीमा पोषण सामाग्री सहितको अटो गुडाइयो

बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन अपनाउनुपर्ने सावधानीबारे स्थानीयबासीलाई जानकारी गराउने उद्देश्यले पोषण सामाग्रीसहितको अटो गाउँमा गुडाइएको हो।


    • स्वास्थ्य पेज

  • ३१ असार २०८१, सोमबार
  • प्रियास्मृति ढकाल । 

नेपालगन्जः पोषण शिक्षाबारे जनचेतना फैलाउने उद्देश्यले बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कमैयाँडाडामा पोषण सामाग्री सहितको अटो गुडाइएको छ । पदनाहबाट गुडाइएको अटोले जोरैया, मोहनपुर, सिधनिया, हव्रहवा, पनेरिया, मेहमानपुर, लक्ष्मीराजपुर, टेपरी, गुलरी, ढलैया गाउँको परिक्रमा गरेको आधारभूत स्वास्थ्य सेवा केन्द्र कमैयाडाँडाका हेल्थ असिस्टेन्ट नियामत अलि साईले जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवा केन्द्र कमैयाडाँडाको आयोजनामा गुडाइएको उक्त अटोमा अन्न, गेडागुडी, पशुपंक्षीजन्य खाना र हरियो सागपात लगायतका पोषण सामाग्री राखिएको थियो ।

बालबालिकाहरुलाई कुपोषणबाट जोगाउन अपनाउनुपर्ने सावधानीबारे स्थानीयबासीलाई जानकारी गराउने उद्देश्यले पोषण सामाग्रीसहितको अटो गाउँमा गुडाइएको उहाँले बताउनुभयो । ‘तल्लोस्तरमा पोषणा शिक्षाबारे यसरी सचेतना फैलाउन गरिएको कार्यक्रम सम्भवतः बाँकेमै पहिलो हो उहाँले दावी गर्दै भन्नुभयोे–‘स्वास्थ्यकर्मी सम्मेलित भएर गाउँगाउँमा पोषण सामाग्री सहितको अटो गुडाउनु र पोषण शिक्षाबारे पर्चा पम्पलेट समेत वितरण गरेका छौं ।’ दुई वर्ष मुनिका बालबालिकाहरुलाई अन्न, गेडागुडी, पशुपंक्षीजन्य खाना र हरियो सागपात नियमित र मिलाएर खुवाउने हो भने कुपोषणबाट जोगाउन सकिने उहाँको भनाइ छ ।

‘फेरिदो जीवनशैली र खानपानमा उचित ध्यान नदिएका कारण अहिले बालबालिकाहरु सुकेनास र फुकेनासबाट पीडित छन् उहाँले भन्नुभयोे–‘हाम्रो यो अभियानले बालबालिकाहरुलाई कुपोषित हुनबाट जोगाउँदै सुपोषित गराउँछ भन्ने विश्वास लिएका छौं । हेल्थ असिस्टेन्ट नियामत अलि साईसहित स्वास्थ्यकर्मीहरु मनोज कुमार मौर्य, तीलसरी घर्तिले पोषण सामाग्रीको महत्वबारे स्थानीयबासीहरुलाई सचेत पार्ने काम गर्नुभएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का अध्यक्ष लवराज खरेलले पोषण सामाग्रीसहितको अटो गुडाउने कार्यक्रमले पोषण शिक्षाको आवश्यकता र महत्वबारे स्थानीयबासीलाई प्रभावकारी रुपमा जानकारी प्राप्त भएको बताउनुभयो । अहिलेपनि गाउँघरमा पोषण शिक्षाको अभावका कारण बालबालिकाहरु कुपोषित हुने दर जोखिमपूर्ण रहेकाले आफ्ना बालबालिकाहरुको स्वास्थ्य चौकीमा नियमित नापतौल गर्न सुझाव दिनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले पालिकाले कुपोषण रोकथामका लागि पोषण सामाग्री वितरणदेखि सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा उत्कृष्ट तीन जना आमाहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा पुजा घर्तिमगर, सुमन चौधरी र जनक कुमारी चौधरी रहनु भएको छ । दुई वर्षभित्र सबैभन्दा बढी पटक बच्चाको तौल लिन स्वास्थ्य चौकी आउने एक हजार दिनका आमालाई पोषण सामाग्री सहित उहाँहरुले दुई वर्षसम्म आफ्ना नानीबाबुलाई स्वास्थ्य चौकीमा पुगेर नियमित रुपमा तौल लिने गर्नुभएको थियो ।

यसैगरी उत्कृष्ट दुई स्वास्थ्यकर्मीलाई पनि सम्मानित गरिएको छ । सिनियर अनमी तिलसरी घर्तिमगर र सिनियर अहेव चेतानाथ थारुलाई सम्मानित गरिएको हो । यसैगरी स्वयमसेविका बुद्धि बुढाथोकी र पार्वती थापालाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा लक्ष्मी थारु, नरबहादुर पुन, तिलक बहादुर पुन, सुमित्रा अर्याललगायतको उपस्थिति रहेको थियो ।

  • ३१ असार २०८१, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech