नेपालगन्जः तराईको गर्मी होस् वा डुबान, दुवै बेला सर्पको डर सधैं रहन्छ । सावधानी अपनाउँदा अपनाउँदै सर्पदंशको चपेटमा पर्नेहरु भइहाल्छन्, झट्ट उपचार चाहिन्छ । यस्तो बेला राप्तीसोनारी गाउँपालिका मातहत रहेको नेपाली सेनाले हेर्दै आएको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा ग्रामीण भेगलाई सेवा दिनेगरी सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रले ठूलो भर गरेको छ । शम्शेरगन्जमा सर्पदंश उपचार केन्द्रमा चालु आर्थिक वर्षमा मात्रै सर्प र विच्छीले टोकेका ९६ जनाको उपचार गरिएको छ । जसमध्ये १० जनालाई विषालु सर्पले डसेको थियो । यहाँ सर्पदंश तथा बिच्छी, बारुला, अरिगांल आदिले डसेकाहरुको उपचार भइसकेको छ ।
उक्त केन्द्रको सेवालाई थप प्रभावकारी गराउन विहीबार प्यासेन मोनिटर हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालयले मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको इलाका वन कार्यालय शम्शेरगन्जका प्रमुख सुशील सुवेदीले बताउनुभयो । प्यासेजन मोनिटर डिभिजन वन कार्यालयका प्रमुख अजित कुमार कर्णले राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु र वडाअध्यक्ष शालिकराम डाँगीलाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभएको थियो । योसँगै सर्पदंश उपचार केन्द्रमा दुईवटा मोनिटर भएका छन् । यसअघि बिरामीको चाप पर्दा प्यासेन मोनिटरको अभाव हुने गरेको थियो । यसले बिरामीको अवस्था अनुगमनमा ठूलो भूमिका निर्वाह गर्ने गरेको छ । प्यासेन मोनिटर नहुँदा एकै पटक दुई जना बिरामी आउँदा समस्या हुने गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सर्पदंश उपचार केन्द्र संचालन भएपछि धेरै नागरिकको ज्यान जोगिएको बताउनुभयो । ‘स्थानीयसँगको सहकार्यमा प्रभावकारी उपचार गर्न सफल भएका छौं,’ उहाँले भन्नुभयोे, ‘स्थानीय मात्र नभइ छिमेकी जिल्ला दाङ र बर्दियादेखि सर्पदंश पीडितलाई उपचारका लागि यहाँ ल्याउने गरिएको छ ।’ केन्द्र सञ्चालनमा आएपछि जिल्ला सदरमुकाम नेपालगन्ज्स्थित भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप समेत घटेको उहाँले दाबी गर्नुभयो ।
केन्द्रमा उपचार निःशुल्क छ । आवश्यक उपकरण तथा अन्य भौतिक पूर्वाधारमा स्थानीय नागरिक समाज, गाउँपालिकाको कार्यालय, वन कार्यालय, निकुञ्ज, नेपाली सेना लगायतले सहयोग गरेको जानकारी उहाँले जानकारी दिनुभयो । केन्द्रमा नेपाली सेना र राप्तीसोनारी गाउँपालिकाले चिकित्सक र स्वास्थ्यकर्मी चौविसैं घण्टा खटाएका छन् । प्यासेन मोनिटर कार्यक्रममा निकुञ्जका अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।