कोहलपुरमा स्तन र पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ शिविर

    • स्वास्थ्य पेज

  • १८ असार २०८१, मंगलवार

कोहलपुरः कोहलपुर नगरपालिका वडा नं.५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज साधारण स्वास्थ्य परीक्षण तथा स्त्रीरोग विशेषज्ञद्धारा स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ शिविर गरिएको छ ।

वडा कार्यालयको आयोजना तथा आर.एम हस्पिटल कोहलपुरको प्राविधिक सहयोगमा गरिएको शिविरमा ३५० जना बिरामीको स्वास्थ्य चेकजाँच गरिएको कोहलपुर नगर अस्पतालका ल्याव इन्चार्ज दीपक शर्माले जानकारी दिनुभयो ।

चार जनामा पाठेघरको मुखमा क्यान्सरको शंकास्पद लक्षण चिन्ह देखिएको छ । एक सय सात जनामा भिआइए परिक्षण गरिएकोमा चार जनामा शंकास्पद  देखिएको पनि शर्माले बताउनुभयो । उहाँका अनुसार तीन सय जनाको मधुमेहको समेत चेकजाँच गरिएको थियो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कविता सिन्हाको नेतृत्वमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ होमनाथ अधिकारी, मेडिकल अधिकृत डा.चेतन न्यौपाने, आर.एम हस्पिटलमा कार्यरत डा.गोविन्द थारु, स्वास्थ्यकर्मीहरुले प्रकाश विसी, गेहराज खनाल, बुद्धिमाया बस्याल, राधिका गैरे, राधा केसी लगायतले बिरामीको स्वास्थ्य चेकजाँच गरेको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सुदिप देवकोटाले जानकारी दिनुभयो ।

उक्त शिविरको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्नुभएको थियो । त्यसक्रममा उहाँले अझै पनि महिलाहरु आफ्ना स्वास्थ्य समस्यालाई लुकाएरै राख्ने गरेको भन्दै घरदैलोमा गरिएको विशेषज्ञसहितको शिविरले उनीहरुको रोग पहिचानमा सहज हुने बताउनुभयो । उहाँले समयको रोगको पहिचान गरेर उपचारमा सहजता ल्याउन पनि शिविर प्र्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । यसअघि यस्तै शिविर वडा नं.२, ७, ९, १० र ११ नम्वर वडामा सम्पन्न भइसकेको छ ।

  • १८ असार २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech