नेपालगन्जः बर्दियाको बासगढी नगरपालिका वडा नं. ८ ककौरामा प्रजनन् रुग्नता, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, अब्स्टेट्रिक फिस्टुला, आङ खस्ने समस्या तथा बाँझेपन सम्वन्धी निशुल्क परीक्षण शिविर गरिएको छ । बासगढी नगरपालिकाको आयोजना तथा हेल्थ केयर अस्पताल तथा प्रसूति गृह नेपालगन्जको प्राविधिक सहयोगमा शिविर गरिएको हो ।
आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित उक्त शिविरमा २३० जनाले स्वास्थ्य परीक्षण गराएको केन्द्र प्रमुख सरोज पौडेलले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३५ जनामा पाठेघरको मुखको क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । भिआइए परीक्षणका क्रममा उनीहरुमा क्यान्सरको शंकास्पद लक्षण देखिएको उहाँको भनाइ छ ।
भिआइए परीक्षणमा पोजेटिभ देखिएका र पुष्टि भएकाहरुलाई थप चेकजाँच र उपचारका लागि रिफर गरिएको पनि केन्द्र प्रमुख पौडेलले बताउनुभयो । यस्तै पाँच जनामा आङ खस्ने समस्या देखिएको पनि उहाँले बताउनुभयो ।
हेल्थ केयर अस्पताल तथा प्रसूति गृहमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.नवीन तिमिल्सेनाको नेतृत्वमा गएको नर्सिङ स्टाफको टोलि र आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीको टोलिले शिविरमा आएका महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको थियो । पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, बाँझोपन, प्रजनन् रुग्नता सम्वन्धी समस्याहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
फेरिदो जीवनशैली, अस्वस्थ खानपिनलगायतका विभिन्न कारणले महिलाहरु विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । स्वास्थ्य सम्वन्धी चेतनाको अभाव, डर, लाज लगायतका कारणले पनि महिलाहरु यस्ता रोगहरु लुकाउन बाध्यछन् । ककौरामा रहेको यो आधारभूत स्वास्थ्य केन्द्रले उपचारात्मक र सचेतनामुलक सेवाहरु प्रवाह गर्दै आएको पनि केन्द्र प्रमुख पौडेलले बताउनुभयो ।