- डा. अमित गौली
कन्सल्टेन्ट फिजिसियन, इन्टरनल मेडिसिन ।
हाम्रो शरीरको दुई तिहाइ तौल पानीले भरिएको हुन्छ । पानीले नै शरीरमा पोषक तत्त्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसारपोसार गर्छ । शरीरको तापक्रम स्थिर राख्छ ।
जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको उत्पादन, चोट लाग्दा त्यसलाई सोस्ने काम पनि पानीले नै गर्छ । शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ ।
हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौं । त्यसैअनुसार पानीको सन्तुलन मिलाइरहनुपर्छ, ताकि शरीरमा पानीको कमी नहोस् । तर पानीको कमी भएमा यसले धेरै रोगको सिकार बनाउन सक्छ । विशेषगरी गर्मीयाममा अत्याधिक पसिना बाहिरिने हुँदा शरीरमा पानीको अभाव हुनसक्छ । शरीरमा पानी कम हुने बित्तिकै यसले विभिन्न संकेत देखाउँछ ।
के कस्ता संकेत देखा पर्छन् ?
पिसाब गाढा पहेंलो रङको र मात्रा कम हुनु
यदि पिसाब गाढा पहेंलो रङको छ र पिसाबको मात्रा कम छ भने यसले शरीरमा पानी कम भएको बुझाउँछ । किनकि शरीरमा पानी कम छ भने मिर्गौलाले आफ्नो कार्यलाई कायम राख्न शरीरमा भएको तरल पदार्थ सकेसम्म आफैं राख्छ । जसकारण रङ अत्याधिक पहेंलो र मात्रा कम हुन्छ । पानीको कमी बाहेक गाढा पिसाब पनि कुनै रोगको लक्षण हुनसक्छ । त्यसैले पिसाबको रङ र त्यसको मात्रामा ध्यान दिनुपर्छ ।
सुक्खा छाला र ओठ फुट्ने समस्या
यदि पहिले भन्दा छाला सुक्खा छ, पसिना आउँदैन र ओठ पनि सुक्खा भएर फुटिरहेको छ भने शरीरलाई आवश्यक पानी नपुगेको बुझ्न सकिन्छ ।
मांसपेशी दुखाइ
यदि हातखुट्टाको मांसपेशी दुख्ने समस्या पटक-पटक भइरहेको छ भने शरीरमा पानीको कमी हुनसक्छ । किनकि पानीको कमीले शरीरमा इलेक्ट्रोलाइटलाई असन्तुलन हुनसक्छ । जसले मांसपेशीहरुलाई असर गर्छ ।
टाउको दुखाइ
शरीरमा पानी कम हुँदा टाउको दुख्ने र एकाग्रतामा कमी गराउन सक्छ । पानीको कमी हुँदा मस्तिष्कमा आवश्यक अक्सिजन प्राप्त हुँदैन । जसले मस्तिष्कको कार्य क्षमता प्रभावित हुन्छ ।
कब्जियत
पानीले दिसालाई नरम पारेर पाचनको बाटो हुँदै मलद्वारबाट निकाल्न सहज गराउँछ । तर पानीको अभाव हुँदा आन्द्रामा पचेर अनावश्यक तत्त्व पास हुन गाह्रो हुन्छ र दिसा कडा बनेर बस्छ । जसलाई कब्जियत भएको बुझिन्छ ।
पिसाबको मात्रा कम हुनु
शरीरमा पानी कम छ भने मिर्गौलाले शरीरमा भएको तरल पदार्थ आफ्नो कार्यलाई कायम राख्न सकेसम्म आफैं राख्छ ।
ऊर्जा कम हुनु
पानीको स्तर कम हुनेबित्तिकै शरीरको तापक्रम सन्तुलन राख्न कठिन हुन्छ । अझ पानी कम खाने र शारीरिक गतिविधि बढी छ भने शरीर कमजोर हुने, शिथिल रहने हुन्छ । कुनै काम गर्नलाई ऊर्जा नहुने हुन्छ ।
सास गन्हाउनु
पानीले मुखमा र्याल उत्पादन गर्ने र मुखमा भएको कीटाणु हटाउने काम गर्छ । दाँत र गिजालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।
पानीको अभावले र्याल उत्पादन कम हुन्छ । जसले जिब्रो, दाँत र गिजामा कीटाणुले संक्रमण गर्न सक्छ । जसकारण सास गन्हाउँछ ।
दिनको कति पानी पिउनु आवश्यक ?
सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउन सुझाइन्छ । यद्यपि, दैनिक कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले दिनमा कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ । त्यसैले एउटै नियम सबैलाई लागू हुँदैन ।