नेपालगन्जः लुम्विनी प्रदेशसभा सदस्य अम्विका काफ्लेले लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य क्षेत्र भन्दा पनि स्वास्थ्यकर्मीलाई प्राथमिकता दिएर बजेट निर्माण गरेको भन्दै आपत्ती जनाउनुभएको छ । विनियोजित बजेटमाथि प्रदेशसभामा आफ्नो धारणा राख्नेक्रममा उहाँले यस्तो बजेटले नागरिकको मौलिक हकको समेत हनन् भएको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयले नेपालगन्जमा वर्थिङ सेन्टरका लागि बजेट विनियोजन नगरेकोप्रति आपत्ती जनाउनुभएको छ उहाँले आफुले स्वास्थ्य मन्त्रीलाई भेटेरै वर्थिङ सेन्टर निर्माणका लागि ध्यानाकर्षण गराएपनि योजनामा नसमेटिएको भन्दै आपत्ती जनाउनुभयो । उहाँले बजेट तयार पार्दा मौलिक अधिकारकै हनन् हुने गरी बजेट तयार पारिएको बताउनुभयो । चालू आर्थिक वर्षमा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा मेरो स्वास्थ्य मेरो जिम्मेवारीको नीति लिएपनि अहिलेको सरकारले त्यसलाई कार्यान्वयनमा ल्याउन नसकेको उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालयमा औजार खरिदका लागि रातो कितावमा बजेट छरिएको भएपनि जनशक्ति व्यवस्थापनमा भने ध्यान नदिइएको उहाँले बताउनुभयो । उहाँले प्रदेशसभामा प्रश्न गर्दै भन्नुभयो–‘अहिलेको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य कार्यालयमा औजार बाँडेर ती औजार जनशक्तिविहीन अवस्थामा जनशक्ति नभएरै संचालन गर्ने नयाँ प्रविधि भित्र्याएको हो ?’
उहाँले महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपका लागि समेत मन्त्रालयले प्रयाप्त बजेट विनियोजन नगरेको बताउनुभयो । खोपमा भन्दा पनि तालिम, गोष्ठि र तथ्यांक संकलनमा बजेट विनियोजन गरेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले लुम्विनी प्रदेशमा ५२ प्रतिशत महिलाको जनसंख्या रहेको उल्लेख गर्दै सरकारले वास्तविकता र आवश्यकता आंकलन नगरी बजेट विनियोजन गरेको बताउनुभयो ।
नीति तथा कार्यक्रममा पूर्ण सुरक्षित मातृत्व भनेर उल्लेख गरिएको छ । तर अहिले लुम्विनीमा एक लाख बच्चा जन्मदा २०७ जना वच्चाको मृत्यु भइरहेको तथ्यांक छ । दिगो विकास लक्ष्यले भन्छ यो संख्या ७० मा झार्नुपर्छ । तर मन्त्रालयको बजेटले मातृ तथा शिशु मृत्युदर रोक्न भन्दा पनि बजेट स्वास्थ्यकर्मीमुखी भएको टिप्पणी गर्नुभयो । उहाँले थारु समुदायमा रहेको सिकलसेल रोगको उपचार, निदान र व्यवस्थापनका लागि समेत प्रयाप्त बजेट विनियोजन नगरेको बताउनुभयो ।