नेपालगन्ज: नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा बाँकेले ५१ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसका अवसरमा संघले नेपालगन्ज र कोहलपुरमा छुट्टा छुट्टै रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सोमबार नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा ४३ जनाले रगत दान गरेका छन् । यस्तै संघकै आयोजनामा कोहलुरमा सम्पन्न रक्तदान कार्यक्रममा ३१ जनाले रगत दान गरेको संघका कार्यसमिति सदस्य सन्तोष बाबु सुवेदीले जानकारी दिनुभयो ।
क्षेत्रिय रक्तसञ्चारसँगको सहकार्यमा संघले स्थापना दिवसको मौका पारी रगत अभावको समस्या पुर्ति गर्न कार्यक्रमको आयोजना गरेको संघका बाँके अध्यक्ष जयदेव अवस्थीले जानकारी दिनुभयो । अध्यक्ष अवस्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका केन्द्रिय सदस्य सरला सुवेदी, संघका लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष अभय बस्नेत लगायतले रगत तान्न प्रयोग हुने सामाग्री प्रादेशीक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्त्रण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका औषधी व्यवसायी, विभिन्न औषधी कम्पनीमा कार्यरत बजार प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतले रक्तदान गरेको बताईएको छ । आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न सोमबार आयोजित रक्तदान कार्यक्रममा उपस्थित सबैमा संघले धन्यवाद दिएको छ ।
यस्तै दिवसकै अवसरमा संघले मानव सेवा आश्रममा समेत सहयोग गरेको छ । नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा एक छाक खाना खुवाएको संघका सदस्य सन्तोष बाबु सुवेदीले बताउँनुभयो । मानव सेवा आश्रममा आश्रय लिइरहेकाहरुलाई विहानको खाना खुवाइएको उहाँले बताउँनुभयो ।
यस्तै संघका जिल्ला अध्यक्ष अवस्थी, वरिष्ठ उपाध्यक्ष पवन कुमार बानिया, सदस्यहरु सन्तोष बाबु सुवेदी, लोक बहादुर कठायत, राजेश गुप्ता लगायतले मानव सेवा आश्रममा व्यक्तिगत सहयोग समेत गर्नुभएको छ ।