सुदूरपश्चिममा डेंगुको सङ्क्रमण बढ्दो

    • स्वास्थ्य पेज

  • ६ असार २०८१, बिहीबार
सुदूरपश्चिममा डेंगुको सङ्क्रमण बढ्दो

नेपालगन्ज: लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उहाँले जानकारी दिनुभयो।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ ।

उहाँले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताउनुभयो । डेंगु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिनुभयो।

स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेंगु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो ।

  • ६ असार २०८१, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech