नेपालगन्जः भारतीय गायिका अल्का याग्निकलाई दुर्लभ न्युरोसम्बन्धी समस्या भएको छ । ५८ वर्षीया अल्काले इन्स्टाग्राममार्फत भाइरल आक्रमणबाट हुने दुर्लभ न्युरो समस्याबाट आफूले श्रवणशक्ति गुमाएको जानकारी दिनुभएको छ ।
यसैकारण आफू लामो समयदेखि निष्क्रिय रहेको उहाँले बताउनुभयो । साथै उहाँले आफ्ना फ्यानहरूलाई चर्को आवाज गीत नसुन्न र हेडफोनको कम प्रयोग गर्न सुझाउनुभएको छ ।
उहाँले केही हप्ता अगाडि हवाई यात्रा गरेर झरेपछि आफूले श्रवण शक्ति गुमाएको थाहा पाएको बताउनुभएको छ । चिकित्सकले आफ्नो उपचार गरिरहेकाले उहाँले आफ्ना लागि प्रार्थना गरिदिन आग्रह पनि गर्नुभएको छ ।
उहाँले टिप टिप बरसा पानी, देखा है पहली बार, एक दो तीन, चोली के पीछे, कुछ कुछ होता है, ताल से ताल मिलासहितका गीतहरूमा आवाज दिनुभएको छ ।
अल्का बलिउडकी चर्चित पार्श्व गायिका हुनुहुन्छ । २५ भन्दा बढी भाषामा २१ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी अल्काले दुई राष्ट्रिय अवार्ड र सात फिल्मफेयर अवार्ड जितिसक्नु भएको छ ।
सन् १९८० मा रिलिज भएको फिल्म ‘पायल की झंकार’बाट अल्काले पार्श्व गायिकाको रूपमा डेब्यू गर्नुभएको थियो ।