नेपालगन्जः बाँकेको जानकी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । स्वास्थ्य शाखाको आयोजनामा जानकीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले गाउँपालिका प्रमुख र स्वास्थ्य शाखाको युनिटले विकास निर्माण जस्तै दिनरात खटेर स्वास्थ्यमा समेत राम्रो काम गरेर प्रथम स्थान ल्याउन सफल भएको भन्दै बधाई दिनुभयो ।
साथै जानकी गाउँपालिकाले स्वास्थ्यमा प्रथम स्थान ल्याएकोमा जिल्ला समन्वय समितिका तर्फबाट जानकीलाई ५० लाख रुपैँया दिने घोषणा गर्नुभयो । गाउँपालिका प्रमुख छब्बन खाँले स्वास्थ्यमा पालिकालाई पहिलो नम्वरमा ल्याउन सफल भएकोमा खुसी ब्यक्त गर्दै आउने दिनमा गाउँसभाबाट स्वास्थ्य शाखा प्रमुखलाई पुरस्कृत गर्ने बताउनुभयो ।
कार्यक्रममा जानकी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष एवम प्रवक्ता टिकानाथ यादव, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, स्वास्थ्य शाखा जानकीका प्रमुख दल बहादुर रानाले समेत आआफ्नो धारणा राख्नु भएको थियो ।