सर्पदंशबाट जोगिन के गर्ने ?

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्जः नेपालमा गर्मी मौसम सुरु भएसँगै सर्पदंशको घटना बढ्ने गरेको पाइन्छ । तराईका २६ जिल्ला र भित्री मधेसका केही जिल्लामा ६ महिना सर्पदंशको अध्यधिक खतरा हुन्छ । बर्सेनि करिब ४० हजार मान्छे सर्पदंशको प्रकोपमा पर्ने नेपालमा प्रायः गर्मी र वर्षाका बेला सर्पदंशका घटना बढी हुने गरेको छ । नेपालमा पाइने सर्पहरुमध्ये गोमन, राज गोमन, करेत, मुगा, बाघे जस्ता सर्पहरु विषालु सर्पमा गनिन्छन् ।

नेपालमा हुने विषालु सर्प गोमन र करेत हुन् । यी सर्पको टोकाइबाट स्नायु प्रणाली र मुटुमा असर गर्छ । त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ । मुख, जिब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि सास फेर्नै नसकेर बिरामीको मृत्यु समेत हुनसक्छ । त्यसैले बिरामीलाई जतिसक्दो चाँडो अस्पताल लैजानुपर्ने हुन्छ । सबै अस्पतालमा सर्पले टोकेको बिरामीको उपचार नहुन सक्छ । त्यसैले सर्पदंशको उपचार हुने अस्पतालको बारेमा थाहा हुनु जरुरी हुन्छ ।

सर्पले टोकेको १० देखि १५ मिनेटभित्रै अस्पताल पुर्याउने अवस्था छ भने सीधै अस्पताल लैजानुपर्छ । तर, दूरीको हिसाबले अस्पताल टाढा छ भने तत्कालै प्राथमिक उपचार गर्नैपर्छ । प्राथमिक उपचार गर्दा जुन अंगमा सर्पले टोकेको छ, त्यो अंगलाई स्थिर राख्नुपर्छ । ब्लड सर्कुलेसन नै रोक्नेगरी बाँध्नु जोखिमपूर्ण हुन्छ । सर्पको टोकाइबाट बच्न र टोकिहाले के गर्ने भन्नेमा सचेत रहन आवश्यक छ ।

सर्पदंशबाट जोगिन के गर्ने ?

  • राति हिँड्नु परे टर्च लाइट लिएर हिँड्ने
  • जुत्ता वा गम बुट लगाउने
  • खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
  • घर वरपरको घाँस, झारपाट काटेर सफा राख्ने
  • काठ, ढुंगा, टुटेफुटेका सामानको थुप्रो हटाउने
  • जमिनका प्वालहरु टाल्ने
  • पराल, दाउरा आदि तान्न जाँदा होसियारी अपनाउने
  • सुत्नुअघि ओच्छ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने
  • झुल टाँगेर सुत्ने
  • सर्प देखे टाढै रहने

सर्पले टोकिहाले के गर्ने ?

  • डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने
  • सर्पले डसेको ठाउँमा काट्ने, चुस्ने ,बाँध्ने काम नगर्ने
  • कुनै पनि मलम, रासयनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने
  • बिरामीको आत्मविश्वास कामय राख्ने
  • सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
  • बिरामीलाई जतिसक्दो चाँडो अस्पताल वा सर्पदंश केन्द्र पुर्‍याउने

  • २५ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech