सुलभ र सहज रूपमा सेवा प्रवाह गर्दै सहरी स्वास्थ्य प्रवर्धन केन्द्र

आम नागरिकले उपचार खर्च धान्नै नसकेर स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था बढिरहँदा सुलभ र सहज रूपमा सेवा पाइने सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको आवश्यकता टड्कारो बनेको छ ।


    • प्रियास्मृति ढकाल

  • २३ जेष्ठ २०८१, बुधबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरकी ४८ वर्षीया नुजार खानलाई टाउको दुख्ने, रिंगटा लाग्ने, झुम्म हुने, थकाइ महसुस हुने लगायतको समस्या भइरहेको थियो । करिव एक हप्तासम्म समस्या कम नभएपछि उहाँ नजिकै रहेको सहरी स्वास्थ्य प्रर्वधन केन्द्रमा पुग्नुभयो । आवश्यक स्वास्थ्य चेकजाँचपछि उहाँमा उच्च रक्तचाप देखियो । अहिले उहाँले नियमित औषधि सेवन गरिरहनुभएको छ भने खानपान र जीवनशैलीलाई बदल्दै लग्नुभएको छ ।

यस्तै समस्या देखियो वसपार्क निवासी ४२ वर्षीय तिलक बस्नेतलाई । उच्च रक्तचापबाट पीडित उहाँले पनि नियमित औषधि सेवन गरिरहनुभएको छ । घरछेउ नजिकैको सहरी स्वास्थ्य प्रवर्धन केन्द्रले ल्यावसहितको सेवा प्रवाह गरेपछि अहिले नगरबासीहरुले सहज र सरल तरिकाले सेवा पाइरहेका छन् । ‘यही प्रेसर चेक गराउन अन्य अस्पतालमा गएको भए घण्टौ लाइनमा लाग्नु पर्ने अवस्था हुन्थ्यो बस्नेतलले भन्नुभयो–‘यहाँ न धेरै लाइन लाग्नु पर्यो न त धेरै पैसो नै खर्च भयो ।’ केन्द्रमा फिजिसियन डा.शंकर केसी नेतृत्वको टिमले सेवा प्रवाह गर्दै आएको छ ।

यहाँबाट रगतको मात्राको परीक्षण, सुगर, मिर्गौला, कलेजो जाँच, युरिक एसिड, बाथ र पिसाव लगायतको चेकजाँच हुदै आएको छ । केन्द्रले भेरी अस्पताल भन्दा पनि २० प्रतिशत कममा चेकजाँच गर्दै आएको केन्द्र प्रमुख समेत रहनुभएका डा. केसीको भनाइ छ । आम नागरिकले उपचार खर्च धान्नै नसकेर स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था बढिरहँदा सुलभ र सहज रूपमा सेवा पाइने शहरी स्वास्थ्य सेवाको आवश्यकता टड्कारो बनेको छ।

सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका काममा खोप कार्यक्रम जस्ता आधारभूत निरोधात्मक स्वास्थ्य सेवा दिने, स्वस्थ जीवनशैली र खानपिन जस्ता विषयमा स्वास्थ्य–चेतना बढाउने र एमबीबीएस तहको पढाइ पूरा गरेका ‘मेडिकल अफिसर’ हरूको नेतृत्वमा उपचारात्मक सेवा पनि वडा तहमै उपलब्ध गराउने आदि पर्छन्। त्यस अनुसार त्यस्ता स्वास्थ्य प्रवर्द्धन केन्द्रले सेवा पनि दिइरहेका छन्। त्यही जगमा टेकेर नेपालगन्ज उपमहानगरपालिकाले पनि सहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालनमा ल्याएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दको भनाइ छ । ‘सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको अवधारणा भनेकै सहज, सरल र सर्वसुलभ सेवा प्रवाह गर्नु हो चन्द भन्नुहुन्छ–‘निम्न आयस्रोत भएका नागरिकहरु केन्द्रबाट धेरै लाभान्वित हुनुभएको छ ।’

केन्द्र प्रमुख डा.शंकर केसी ।

केन्द्रले ओपिडी सेवा समेत दिँदै आएको छ । हिंजोआज ओपिडीमा फंगल इन्फेक्सन, ज्वरो, रुघाखोकी र मौसमी बिरामीहरु बढीमात्रामा आउने छन् । ओपिडी सेवामा दैनिक २५–३० जना बिरामी उपचारका लागि आउने गरेका छन् । सुगर र प्रेसरका बिरामीहरु पनि फलोअपमा आउने गरेको डा.केसीको भनाइ छ । खासगरी बालबालिकाहरु बढीमात्रामा आउने गरेका छन् । यसरी सेवा लिन आउनेहरु निम्न आयस्तर भएका परिवारका रहेको उहाँको भनाइ छ । नुजार खान भन्नुहुन्छ–‘भेरी अस्पतालमा जाउँ पालो कुर्दा कुर्दै उल्टै थप बिरामी पर्ने डर निजी क्लिनिकमा जाउँ पैसा हुदैन । हाम्रो लागि त यो केन्द्र बिरामी पर्दा सबैभन्दा भरपर्दो अस्पताल हो ।’ केन्द्रले आफुसँग भएको स्रोतसाधनबाट नागरिकहरुलाई सेवा दिदै आएको छ ।

सीमित स्रोतसाधन र जनशक्तिका कारण थप सेवाहरु विस्तारमा समस्या छ । तर पनि केन्द्रले एक्स रे र भिडियो एक्स रे सेवालाई तत्काल निरन्तरता दिने योजना बनाएको छ । गर्भवति महिलाहरुलाई लक्षित गरेर भिडियो एक्स रे मेसिन भित्र्याउने तयारी केन्द्रको छ । ‘ठूलै सेवा दिन नसकिएपनि कम्तिमा गर्भवति महिलाको बच्चाको अवस्था पहिचान गर्नेदेखि गर्भवति भए नभएको पुष्टि समेत केन्द्रबाटै गर्ने गरी भिडियो एक्स रे सेवा संचालनको योजनामा छौं’ उहाँले भन्नुभयो । केन्द्रको आफ्नै फार्मेसी छैन । तर सरकारले निशुल्क प्रदान गर्दै आएका औषधिहरु नै बिरामीलाई उपलब्ध गराउने गरिएको छ । केन्द्र परिसरमै खोप भवन निर्माणाधीन अवस्थामा छ ।

‘केन्द्रलाई स्तरीय सेवा प्रवाहका लागि गर्नुपर्ने काम धेरै छन् केसी भन्नुहुन्छ–‘सीमित स्रोत साधनका कारण त्यसलाई गति दिन नसकिएको छैन । तर विस्तारै यसलाई स्तरीय सेवा प्रवाह गर्ने अस्पतालको रुपमा विकास गरिनेछ ।’ सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पहिलो उद्देश्य भनेको रोग लागिसकेपछि भन्दा पनि रोग लाग्नु अगाडि नै तिनको रोकथाम र निदान गर्नु हो । विशेषगरी यसले नसर्ने रोगहरूलाई लक्षित गरी स्वस्थ जीवनशैलीका लागि समुदाय तहमा प्रवर्द्धन गर्ने काम गरिनुपर्ने देखिन्छ । केन्द्रले नागरिकलाई नियमित स्वास्थ्य जाँचको बानी बसाल्ने र त्यस्तो स्वास्थ्य परीक्षणलाई घर आँगनमै उपलब्ध गराउनु पर्ने तत्कालको आवश्यकता हो ।

केन्द्रमा नियमित स्वास्थ्य परामर्शका साथ साथै परीक्षणका क्रममा रोग तथा समस्याको समयमा नै पहिचान गरी केन्द्रमा उपलब्ध उपचार प्रदान गरी उपयुक्त उपचारका लागि प्रेषण गर्नुका साथै उपचार गरेर फर्केकाहरूलाई नियमित निगरानी गर्ने काम पनि गर्नुपर्ने विज्ञहरु सुझाउँछन् । यसले सस्तोमा गुणस्तरिय सेवा प्रदान गर्नेछ र व्यक्तिको खल्तिबाट औषधि उपचारमा लाग्ने खर्चमा समेत न्यूनिकरण गर्न सहयोग पुग्नेछ ।

  • २३ जेष्ठ २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech