नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गर्नुभएको छ। उहाँहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती र अगामी दिनका कार्य योजनाका बारेमा जानकारी लिनुभएको छ ।
विभागका महानिर्देशक नारायण ढकालले जनशक्ति तथा आवश्यक बजेट अपुग हुँदा अपेक्षित काम गर्न नसकिएको बताउनुभयो। विभागले सामना गरिरहेका चुनौतीलाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउदै मन्त्री यादवले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी आज नै स्वास्थ्यमन्त्री यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत पर्ने भक्तपुरस्थित दुवाकोटमा निर्माण हुने विस्तारित वीर अस्पतालको जग्गाको अवलोकन गर्दै स्थानीयसँग छलफल गर्नुभयो ।