यसरी गर्न सकिन्छ आँखाको सुरक्षा

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०८१, आईतवार

जाडोको दाँजोमा मनसुन सिजनमा आँखा रातो हुने सम्भावना धेरै रहन्छ । किनकि यस सिजनमा भाइरस र ब्याक्टेरिया जाडोको तुलनामा धेरै सक्रिय रहन्छन् । उनीहरूको वृद्धिका लागि यो मौसम अनुकूल हुन्छ । प्रदूषणले पनि  आँखा रातो, सुक्खा हुन सक्छ । यस सिजन घाम चर्को हुने भएकाले आँसु सोसिएर बाहिर जान सक्छ ।

त्यस्तै, आँखाको एलर्जी पनि यस सिजनमा बढी देखिने सम्भावना रहन्छ । एलर्जीले आँखा रातो हुने, चिलाउने,  माडौँ–माडौँ हुन्छ । मनसुनमा एक व्यक्तिबाट अर्को व्यक्तिमा इन्फेक्सन सर्ने जोखिम पनि जाडोको तुलनामा ज्यादा रहन्छ । त्यहीकारण हामीले सावधानीका उपायहरू अपनाउनुपर्ने हुन्छ ।

बच्ने उपाय 
– सकभर प्रदूषित इलाकामा जानुहुँदैन । बाइकमा हिँड्दा, गाडीमा हिँड्दा, पहाडहरूमा हिंड्दा सनग्लास लगाउनुपर्छ । यसले चर्को घाम र प्रदूषणबाट आँखालाई सुरक्षित राख्छ ।

– बेलुकी बाहिरबाट घर आएपछि साबुनपानीले हात धुनुपर्छ । हात नपखाली मुख, नाक र आँखामा लैजानुहुँदैन । पहिले साबुनपानीले हात धुने र त्यसपछि आँखा पखाल्ने गर्नुपर्छ । आँखामा टाँसिएका धुलो–धुवाँ बाहिर निस्कन्छन् । बिहान पनि चिसो पानीले आँखा पखाल्नुपर्छ ।

– कोही व्यक्ति संक्रमित छ भने ती व्यक्तिको सम्पर्कमा जानुहुँदैन । संक्रमितसँग नजिक पर्दा संक्रमण सर्न सक्ने जोखिम रहन्छ । संक्रमित भएको व्यक्तिले पनि कालो चस्मा लगाउनु राम्रो हुन्छ । यस्तो हुँदा संक्रमण अर्कोमा सर्ने जोखिम कम रहन्छ ।

– संक्रमितले प्रयोग गरेका सामान जस्तो, मोबाइल, रुमाल, टाबेल, कालो चस्मा अन्य व्यक्तिले चलाउनुहुँदैन ।

– आँखामा हेभी मेकअप गर्नु राम्रो हुँदैन । आँखाको भित्री ढकनीहरूमा मेकअप टाँसिएर इरिटेसन हुने अवस्था आउन दिनुहुँदैन । बाहिरी भागमा सामान्य मेकअप गर्न सकिन्छ । तर, एउटाले युज गरेको मेकअप ब्रस अर्कोले युज गर्नु राम्रो हुँदैन ।

– गर्मीको सिजनमा धेरै मानिस पौडन रुचाउँछन् । तर, आँखा पाकेका मानिस स्विमिङ पुलमा जानुहुँदैन । स्वस्थ मानिसले पनि  स्विमिङ पुलको सरसफाइ कसरी गरिएको छ भन्ने बुझ्न जरुरी छ । निर्मलीकरण गरिएको सफा पानीमा पौडँदा हुन्छ । तर, यदि पानी प्रदूषित छ भने संक्रमण हुन सक्ने जोखिम रहन्छ । स्विमिङ गगल्स पनि लगाउन सकिन्छ । यसले आँखामा पानी छिर्न दिँदैन ।

– आँखा पाकेको अवस्थामा केही दिन बच्चालाई स्कुल नपठाउने, घरमै आराम गर्न लगाउनु राम्रो हुन्छ । जसकारण, अरूमा संक्रमण सर्न पाउँदैन । बच्चालाई तनाव
पनि कम हुन्छ ।

– आँखा सुक्खा हुने, बिझाउने, पोल्ने र चिलाउने भएमा आँखामा लुब्रिकेटिङ आई ट्रपहरू प्रयोग गर्न सकिन्छ । यसले आँखालाई शीतलता प्रदान गर्छ । आँखामा केही समस्या अनुभव हुँदा दिनमा तीन–चार घण्टाको फरकमा हाल्दा हुन्छ ।

– कम्प्युटर, ल्यापटपलगायत डिजिटल डिभाइसमा अत्यधिक समय बिताएका वेला पनि दुई–तीन घण्टाको फरकमा आँखामा आई ड्रप हाल्नु राम्रो हुन्छ । यसले आँखालाई सुक्खापनबाट जोगाउँछ, शीतलता प्रदान गर्छ ।

– आँखाको नियमित चेकजाँच गर्नुपर्छ । पावर भएका चस्मा लगाउने वा आँखा कमजोर भएकाहरूले ६–६ महिनामा गर्नुपर्छ । आँखामा कुनै समस्या छैन भने वर्षमा एकपटक स्क्रिनिङ टेस्ट गर्नु राम्रो हुन्छ ।

  • २० जेष्ठ २०८१, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech