सिरोहिया मेडिसिटी अस्पतालको सीसीयूमा भर्ना

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८१, मंगलवार

काठमाडौंः कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा भर्ना गरिएको छ । उहाँलाई आज जनकपुरको काव्या अस्पतालले थप उपचार तथा निदानका लागि मेडिसिटी अस्पताल रेफर गरेपछि एयरलिफ्ट गरेर दिउँसो काठमाडौं ल्याइएको थियो । अस्पताल ल्याइएसँगै उहाँको विभिन्न परीक्षण भएका थिए ।

त्यसमा केही समस्या देखिएपछि स्वास्थ्य निगरानीका लागि चिकित्सकहरूले सीसीयूमा भर्ना गरेका हुन् । जिल्ला प्रहरी कार्यालयको हिरासत नै रहेकाले उहाँको निगरानीका लागि हतियारसहित प्रहरी सीसीयू बाहिर नै खटिएको छ । प्रहरी हिरासतमै रहेका बेला शुक्रबार साँझ अचानक स्वास्थ्य बिग्रिएपछि उपचारका लागि उनलाई सुरुमा प्रदेशिक अस्पताल जनकपुर लगिएको थियो । उपकरण अभावमा त्यहाँ सम्पूर्ण उपचार तथा निदान नहुने भएपछि उहाँलाई प्रादेशिक अस्पतालले नै जनकपुरस्थित काव्या अस्पतालमा रेफर गरेको थियो । उहाँलाई दिउँसो करिब साढे तीन बजेतिर हेलिकोप्टरमार्फत मेडिसिटी अस्पताल ल्याइएको हो ।

स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले सम्पूर्ण रिपोर्ट प्राप्त भइसकेपछि औपचारिक जानकारी गराउने नेपाल मेडिसिटी अस्पतालका बोर्ड सल्लाहकार नविन कुमारले बताउनुभयो । सोमबार तेस्रोपटक तीन दिनको म्याद थप गर्दा धनुषा जिल्ला अदालतले सिरोहियाको स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण उपयुक्त अस्पतालमा लगेर नियमित स्वास्थ्य परीक्षण गरिरहेका चिकित्सकबाट परीक्षण गर्न उपयुक्त हुने आदेश दिएको थियो । सोही आदेशअनुसार काव्या अस्पतालले अध्यक्ष सिरोहियाले नियमित परीक्षण गराइरहेको मेडिसिटी अस्पताल ल्याइएको हो ।

  • १५ जेष्ठ २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech