आत्महत्या रिपोर्टिङ सम्बन्धी नेपालगन्जमा एकदिने कार्यशाला

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्ज: आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको आयोजना र नेपाल पत्रकार महासंघ बाँके शाखाको सहकार्यमा आयोजित आत्महत्या रिपोर्टिङ सम्बन्धी एकदिने कार्यशाला गोष्ठिका सहभागीहरुले आत्महत्याको ग्राफ बढ्दै गएकाले न्यूनीकरणमा पत्रकारहरुको भूमिका अहम रहने बताएका हुन् ।

कार्यक्रममा भेरी अस्पताल नेपालगन्जमा कार्यरत मानसिक रोग विशेषज्ञ डा.लिला देवकोटाले गम्भीर मनोरोग तथा मनमा उत्पन्न समस्यालाई व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्याको बाटो रोज्ने गरेको भन्दै यो दर घटाउन मानसिक रोगबारे जनचेतना फैलाई मानसिक स्वास्थ्य राम्रो बनाउन जरुरी रहेको बताउनुभयो ।

केही आत्महत्या आवेग या पीडाको चरणमा हुने भएपनि, धेरैजसो आत्महत्याको बाटो रोज्ने मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गरेको उहाँले बताउनुभयो । धेरैलाई उपचारमार्फत् आत्महत्या गर्नबाट रोक्न सकिने भन्दै डा देवकोटाले समयमै पहिचान गर्न सके आत्महत्याको दरलाई न्यूनीकरण गर्न सकिने  बताउनुभयो।

भेरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.लिला देवकोटा

यस्तै नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले मानसिक स्वास्थ्य सम्बन्धी सेवा विस्तार गरि रोगिहरुको समयमै पहिचान गर्न सके आत्महत्याका घटानाहरुमा कमी आउने बताउनुभयो । उहाँले समयमै पहिचान गर्नसके उपचार र परामर्श प्रदान गर्न सकिने र त्यसले आत्महत्याको बाटोमा पुग्न नदिने कुरामा जोड दिनुभएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द

भेरी अस्पताल नेपालगन्जका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दिनेश चौधरीले आत्महत्या न्यूनीकरणमा चिकित्सकको जत्तिकै सञ्चारकर्मीहरुको समेत भूमिका रहने भएकाले सकारात्मक सन्देशहरु र आत्महत्या निरुत्साहीत गर्ने सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्नुभयो ।

मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका भक्त बहादुर केसीले मानसिक रोग जनस्वास्थ्य समस्याका रुपमा देखा परेको र यही समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनुभयो । उहाँले आत्महत्या र आत्महत्या रोकथामका बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले सञ्चारकर्मीहरुले सहयोग पाउन सकिने ठाउँबारे सही सूचना दिन सकेपनि यसको न्यूनीकरण गर्न सकिने औल्याउँनुभयो । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै उहाँले आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिब ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताउनुभयो । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने उहाँको भनाइ छ । यस्तै उहाँले आत्महत्याका समाचारको रिपोर्टिङ तथा सम्प्रेषणमा संवेदनशील र उत्तरदायी हुन कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुलाई अनुरोध गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवत्ता डिएसपी नारायण डाँगीले बाँकेमा आत्महत्याका घटानाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जिल्लामा क्रियाशिल विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थित थियो ।

पछिल्लो समय नेपालमा आत्महत्याको दर बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रहरीको तथ्यांकले देखाउँछ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech