नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि, केपी.२ बढी संक्रामक

    • स्वास्थ्य पेज

  • ११ जेष्ठ २०८१, शुक्रबार

नेपालगन्ज: नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । ‘केपी.१’ र ‘केपी.२’ भेरियन्ट पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको प्रयोगशालाका एक उच्च अधिकारीले बताए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउनुभयो ।

अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उहाँले भोली दिनमा कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसिकने बताउनुभयो । कोरानाले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।

विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।

  • ११ जेष्ठ २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech