भेरी अस्पतालमा डा. अधिकारीको नेतृत्वमा पेट सम्वन्धी सबै खाले शल्यक्रिया हुँदै

पछिल्लो पटक कोहलपुर नगरपालिका वडा नं.८ पिपरी निवासी ७१ वर्षीया बसन्ती कुमारी क्षेत्रीको पित्त थैलीमा भएको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया


    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८१, शनिबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा पेट सम्बन्धी सबै खालका शल्यक्रिया हुन थालेका छन् । कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा.कृष्णमोहन अधिकारीको नेतृत्वमा पेट सम्वन्धी जटिल खालका शल्यक्रियाहरु हुन थालेका हुन् । पछिल्लो पटक कोहलपुर नगरपालिका वडा नं.८ पिपरी निवासी ७१ वर्षीया बसन्ती कुमारी क्षेत्रीको पित्त थैलीमा भएको क्यान्सरको सफलतापूर्वक शल्यक्रिया गरिएको डा. अधिकारीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

क्षेत्रीलाई ज्वरो आएपछि परिवारका सदस्यहरुले कोहलपुरका अस्पतालमा देखाएका थिए । तर ज्वरो थमिएन् । पछि पेटको सिटी स्क्यान गरेपछि पित्तथैलीमा क्यान्सरको पुष्टि भएको थियो । क्षेत्रीका ज्वाई चन्द्र बहादुर बुढाका अनुसार गएको वैशाख २३ गते क्षेत्रीको भेरी अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएको हो । डिस्चार्ज भएर अहिले घरमै आराम गरिरहनु भएकी सासु आमाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाक्षेत्रीले बताउनुभयो ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा कृष्णमोहन अधिकारीको नेतृत्वमा जनरल सर्जन डा. सन्तोष सिर्पाइली लगायतको टोलीले उक्त शल्यक्रिया गरेको हो । डा.अधिकारी आएपछि भेरी अस्पतालमा पेट सम्वन्धी जटिल खालका शल्यक्रियाहरु धमाधम हुन थालेपछि बिरामीहरुलाई ठूलो राहात भएको छ ।

पित्तथैलीको पथ्थरी, पित्तनलीको पथ्थरी, क्यान्सर, फियो सुनिएको लगायतका समस्या भएका थुप्रै बिरामीहरुको सफलतापूर्वक शल्यक्रिया भइरहेको पनि डा. अधिकारीको भनाइ छ । त्यसैगरी पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको समेत दूरबिन विधिबाट शल्यक्रिया भइसकेको छ । आन्द्रामा प्वाल परेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको थियो । यसअघि पेट सम्बन्धी यस्ता बिरामीहरु उपचारका लागि भारतको लखनउ र काठमाडौं जानुपर्ने बाध्यता रहेको थियो । जसका कारण बिरामीहरुको आर्थिक भार थपिने गरेको थियो ।

  • ५ जेष्ठ २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech