काठमाडौं: पछिल्लो केही दिनदेखिको आत्याधिक घामसँगै बढेको गर्मीले नेपालगन्ज सहित तराईका विभिन्न जिल्लाको जनजिवन कष्टकर बनेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै दैनिक जनजिवन कष्टकर बनेको हो ।
तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने महाशाखाले जनाएको छ । खासगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा निरन्तर तापक्रम बढिरहेको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताउनुभयो ।
शुक्रबार बाँकेको नेपालगञ्जको अधिकतम तापक्रम देशभरमा सबैभन्दा बढी ४१.१ डिग्री सेल्सियस मापन गरिएको थियो । करिव एकसाता देखि आत्याधिक रुपमा बढेको गर्मीका कारण बाँके मात्र नभई बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाको जनजिवन प्रभावित छ। लगातार बढीरहेको गर्मीका कारण बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका बजारहरुमा किनमेल गर्न आउने सेवाग्राही पनि घटेको व्यापारीहरु सुनाउँछन्।
दैनिक काम गर्नेहरु दिउँसोको प्रचण्ड गर्मीबाट बच्नका लागि बिहान बेलुकीको समयमा काम गर्न थालेका छन् । बिहान बेलुकी बाहेक गर्मीका कारण घरबाट बाहिर निस्किने अवस्था नरहेको नेपालगन्जका निरज चौधरीले बताउनुभयो । उहाँले गर्मीका कारण दैनिक ज्याला मजदुरी गर्नेहरुलाई धेरै समस्या भएको बताउनुभयो ।यस्तै गर्मीकै कारण जिल्लाका अधिकांश कार्यालयहरुमा सेवाग्राहीको उपस्तिथि समेत न्यून छ ।
दिउँसो चल्ने तातो हावाले सर्वसाधारण घरभित्रै खुम्चिन बाध्य छन् । तातो हावाका कारण सडकमा चहलपहल समेत घटेको छ ।अस्पतालमा गर्मीका बिरामी बढेका छन् । चिकित्सककहरुका अनुसार अस्पतालहरुमा अहिले रूघाखोकी, ज्वरो, आउँ, टाइफाइड र छालाका बिरामीहरुको संख्या बढेको छ ।
यसैबिच दिउसो घाम चर्को लाग्ने भएकाले सकेसम्म बिहान बेलुकी मात्रै घरबाट बाहिर निस्किन भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.जिवन कार्की सुझाउँनुहुन्छ । दिउसोमा निस्किन परे पातलो कपडाहरु लगाउने, प्रशस्त मात्रमा पानी पिउन, शुद्व पानी पीउन, जंक फुडहरु नखान कार्कीको सुझाव छ ।
मौसमविद्का अनुसार अझै केहि दिन मौसम यस्तै रहनेछ । त्यसैले स्वस्थ रहन खानपानमा पनि ध्यान दिन आवश्यक छ ।