नेपालगन्जः बाँकेकी हसिना खान सांसद बनेको दुई महिनामै स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्री बन्नुभयो । बाँकेको डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बन्नु भएकी उहाँ आफैँले पनि सोच्नु भएको थिएन कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । मुस्लिम समुदायकी छोरी÷बुहारी हसिनाले बालबच्चा हुर्काउँदै स्नातकसम्म पढनुभयो ।
राजनीतिक पृष्ठभूमिको परवारकी उहाँलाई त्यही योग्यताले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ मुस्लिम महिलाको कोटामा उम्मेदवार बनायो । उहाँ जसपा नेपालबाट समानुपातिक उम्मेदवार हुनुभयो । सो दलबाट मुस्लिम महिलातर्फ निर्वाचित मन्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार हसीनाले अप्रत्यासितरुपमा संसद् छिर्ने मौका पाउनुभयो ।
७ वैशाखमामात्रै उहाँले प्रतिनिधिसभा सदस्यको शपथ लिनु भएको थियो । सांसद भएको महिना दिन नपुग्दै उहाँ सोमबार राज्यमन्त्री बन्नुभयो । जसपा नेपाल विभाजित भएर बनेको जसपाबाट हसीनाले स्वास्थ्य राज्यमन्त्री बन्ने मौका पाउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै नवगठित जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गर्नुभयो । खान राज्यमन्त्री बन्दा मन्त्रिपरिषद्मा महिलाको संख्या पाँच पुगेको छ भने मुस्लिम महिला र मुस्लिम समुदायकै समेत प्रतिनिधित्व भएको छ । राज्यमन्त्री बनेपछि उहाँले चुनौतीपूर्ण संघर्ष पार गरेर यहाँसम्म पुगेको बताउनुभयो ।
‘मुस्लिम समुदायबाट राजनीतिमा आउनु आफैँमा चुनौती हो । यो अवसर पाउनु मेरो लागि मात्र होइन, सिंगो समुदायकै लागि उपलब्धि हो,’ राज्यमन्त्री खानले भन्नुभयो्, ’मेरो समुदायको प्रतिनिधित्वको सम्मान हो ।’ उहाँले स्वास्थ्य मन्त्रालयमा रहँदा आफूले समुदायस्तरमा स्वास्थ्य सेवा पु¥याउन प्रयास गर्ने बताउनुभयो । दुर्गममा डाक्टरहरु नबस्ने, विपन्नले स्वास्थ्य सेवाको पहुँच नपाउने समस्याको अन्त्यका लागि आफूले भूमिका खेल्ने उहाँको भनाइ छ ।