कहालीलाग्दो मातृमृत्युदर रोक्न बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड

बाँकेमा चालू आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्तीसोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


    • स्वास्थ्य पेज

  • २९ बैशाख २०८१, शनिबार

नेपालगन्ज: लुम्बिनी प्रदेशमा देशभरमै उच्च मातृशिशु मृत्युदर छ । ठूल्ठूला र सुविधा सम्पन्न अस्पताल भएपनि सुत्केरी आमा र शिशुको मृत्यु हुने दर कहालीलाग्दो छ । दुई दुई वटा प्रादेशिक, ३ वटा संघीय, १३ वटा जिल्लास्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरूको संख्या नै १ हजार ९ सय ४० छ । प्रदेशमा २८ वटा आधारभूत स्वास्थ्य उपचार केन्द्र, ५ सय ६३ वटा हेल्थ पोष्ट, ४ सय ४९ वटा बर्थिङ सेन्टर र ३ सय ४ वटा आधारभूत स्वास्थ्य केन्द्र गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन् । तर, मातृशिशु मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश सबभन्दा कमजोर देखिएको छ । लुम्बिनी प्रदेशमा १ लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन् । जुन देशका सात वटै प्रदेशमध्ये सबैभन्दा धेरै हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक अधिकृत मान बहादुर ओलीले तथ्यांक प्रस्तुत गर्दै देशभरको अवस्था हेर्दा प्रति १ लाख जीवित जन्ममा १५१ जना आमाले ज्यान गुमाउने गरेको उल्लेख गर्नुभयोे ।

लुम्बिनी प्रदेशमा भने ७६ हजार २४३ जीवित जन्ममा १ सय ५८ जना आमाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही छ । तथ्यांक अधिकुत ओलीका अनुसार १५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा ७÷७ जना, प्यूठान र रोल्पामा ६÷६ जनाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँची र मा ४÷४ जना र सबैभन्दा कम रूकुम पूर्वमा एक जना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । मृत्यु हुने संख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र ५ प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ ।

मातृ मृत्यु दर सबैभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ । जन्म पश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७९-०८० मा प्रदेशमा ५ सय ८० जना नवजात शिशुहरूको मृत्यु भएको छ । लुम्विनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमाहरुमा गर्भ अवस्थाबाटै रक्त अल्पताको समस्या रहेको पाइएको छ । ८ पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने भएपनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्यांक रहेको र त्यसमा पनि ७ प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको तथ्यांक अधिकृत ओलीले बताउनुभयो । नियमित रुपमा गर्भ जाँच र बच्चा जन्मिसकेपछि ४५ दिनसम्म ४ पटक सुत्केरी जाँच नगराएका कारण धेरै आमाहरुको ज्यान जाने जोखिम रहेको उहाँको भनाइ छ ।

लुम्बिनी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद कुमार गिरीको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबहाक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उच्च मातृशिशु मृत्युदर कम गर्न बर्थिङ सेन्टर ब्यवस्थित गर्नुपर्नेमा जोड दिइएको छ । वडाहरुमा ब्यवस्थित बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाको अकालमा ज्यान जाने गरेको बताइएको छ । भेरी अस्पतालमा सुत्केरीहरुको चापले गर्दा बेड नपाउने समस्या र बर्थिङ सेन्टरहरुमा आवश्यक सुविधा नहुँदा नगरपालिकाभित्रकै धेरै सुत्केरीले ज्यान गुमाइरहेको मृतक सुत्केरीका परिवारले गुनासो गरेका छन् । लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट जटिल अवस्थाका सुत्केरीहरु भेरी अस्पतालमा आउने भएकाले सुत्केरीलाई सहजै बेड उपलब्ध गराउन समस्या भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पवनजंग रायमाझीले बताउनुभयो । पश्चिम नेपालको रेफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा छुट्टै प्रसुति गृहको आवश्यकता रहेकाले यसको लागि तीनै तहको सरकारले चासो लिनुपर्ने नेपालगनज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताउनुभयो ।

यसैगरी स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका परिवार नियोजन पर्यवेक्षक डा. कौशल भण्डारीले जनस्वास्थ्य सेवा ऐन २०७५ बारे प्रतुतिकरण गर्नुभयो । सो ऐन बमोजिम नौ वटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने उहाँले बताउनुभयो । सोही अनुसार खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृशिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग, ज्येष्ठ नागरिक, सामान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवर्धन, आयुर्वेद तथा परम्परागत स्वास्थ्यसम्बन्धि सेवाहरू आधारभूत स्वास्थ्य सेवा ऐनमा समावेश रहेको तर सुत्केरी आमाहरुले निःशुल्क सेवा पाउन नसकिरहेको बताउनुभयो ।

बाँकेमा चालू आर्थिक वर्षको नौ महिनामा १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न गाउँपालिकाका छन् । जिल्लाको खजुरा र डुडुवा गाउँपालिकामा २–२ जना, राप्तीसोनारी र नरैनापुरमा १–१ जना सुत्केरीको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ सुत्केरीको मृत्यु धेरै भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन विष्णु श्रेष्ठका अनुसार घर नजिकै ठूल्ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको छ । नेपालगन्जका कार्यबहाक प्रमुख राईले आममानिसमा सचेतना बढाउँदै सहज स्वास्थ्य सेवाको पहुँच बृद्धि गरे मातृशिशु मृत्युदर कम गर्न सकिने बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गिरीले लुम्बिनी प्रदेशमा मातृशिशु मृत्यु बढी भएका स्थानीय तहहरूमा विशेष आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य क्लिनिक सञ्चालन, आपतकालीन अवस्थाका गर्भवती महिलाहरूको लागि निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन गरिए पनि घरमै सुत्केरी हुँदा मातृ मृत्युदर उच्च हुने गरेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपालगन्जका वडा अध्यक्ष, कार्यपालिका सदस्य, भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरका डाक्टर, नर्स, बाँकेका विभिन्न पालिका अन्तर्गतका स्वास्थ्य शाखा प्रमुख, बर्थिङ सेन्टरका कर्मचारी र मृतक सुत्केरीका परिवारहरुको सहभागिता थियो ।

  • २९ बैशाख २०८१, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech