नेपालगन्ज: आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउँदै आइएकोमा यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ (YES WE CAN END TB) भन्ने तय गरिएको छ । दिवसको अवसरमा नेपालगञ्जमा र्याली निकालिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका र विभिन्न संघसंस्थाहरूको समन्वयमा आयोजित र्यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरुको उपस्थिति थियो । स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीको अध्यक्षतामा भेरी अस्पतालबाट सुरू भएको र्याली नेपालगन्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन भएको क्षयरोग फोकल पर्सन रविन्द्र कुमार साहले बताउनुभयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख रामबहादुर चन्द लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । बक्ताहरुले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो ।
बाँकेमा चालू आर्थिक बर्षको हालसम्म ५३९ जना क्षयरोगी थपिएको क्षयरोग फोकल पर्सन साहले जानकारी दिनुभयो । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ । लगातार दुई हप्ता बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुनसक्ने चिकित्सकहरु बताउँछन् ।