होली सुरुः बालबालिका र वृद्धवृद्धाको छालामा रङ नलगाऔँ

    • स्वास्थ्य पेज

  • ११ चैत्र २०८०, आईतवार

नेपालगन्जः रङहरूको पर्व होलीको महत्वबारे फरक–फरक ब्याख्या गरेको पाइन्छ । पछिल्ला वर्षमा होलीमा चलनचल्तीका रङमात्र नभइ छालामा विभिन्न मिश्रणयुक्त सामग्रीहरू पनि लगाउने गरेको देखिन्छ ।होली पर्वको किम्बदन्ती र यसलाई मनाउने तरिका फरक भए पनि यसमा प्रयोग हुने रङहरू मित्रता, सद्भाव र उल्लाससँग जोडिएका छन् ।

होलीमा प्रयोग गर्ने रङको शारीरिक र मानसिक स्वास्थ्यसँग कसरी जोडिएको छ ?प्रकृति विज्ञान भन्छ– होलीमा प्रयोग हुने रङहरूले सूर्यका सात रङहरूलाई प्रतिनिधित्व गर्छन् । रातो रङले व्यक्तिमा शाहसिक र शुद्धताका निम्ति उर्जा प्रदान गर्छ । हरियो रङले प्रकृतिप्रतिको सम्मान झल्काउँछ । पहेँलोले आत्मियताका निम्ति उर्जा, निलोले धैर्यता र शान्तिका निम्ति उर्जा दिन्छ ।

तर, रङहरूको प्रभाव कति सफा र प्राकृतिक रूपमा गर्ने भन्नेमा निर्भर रहन्छ । वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराई भन्नुहुन्छ “होलीमा रङ खेल्दा प्राकृतिक स्रोतबाट बनेका रङहरूको प्रयोग गर्नुपर्छ । यसरी बनेका रङहरू केही महंगो पर्छ । तर छालालाई असर गर्दैन ।” अध्यात्म विज्ञानले रङको प्रयोगलाई मानसिक स्वास्थ्यसँग जोडेर व्याख्या गरेको छ ।

अमेरिकाको ‘स्प्रिचुअल साइन्स रिसर्च फाउन्डेसन’ नामक संस्थाले गरेको एक अध्ययनको रिपोर्टमा रङको प्रयोग र यसले व्यक्तिमा पार्ने प्रभावबारे उल्लेख छ । जसअनुसार गुलाबी, निलो, आकासे, पहेँलो रङलाई मानसिक स्वास्थ्यका हिसाबले फाइदाजनक भनिएको छ । यी रङले व्यक्तिमा सकारात्मक उर्जा र सहयोगी भाव उत्पन्न गर्ने रिपोर्टमा उल्लेख छ ।

सुन्तले, हल्का हरियो रङले पनि व्यक्तिमा सहयोगी भाव उत्पन्न गराउँछ । रातो रङलाई रज वर्गमा राखिएको छ । यसले जस्तोसुकै गुण भएको व्यक्तिलाई पनि उत्तेजित गराउनसक्ने उर्जा प्रदान गर्छ । यसलाई उल्लास र वीरताको प्रतीक पनि मानिन्छ । कालो रङलाई अध्यात्मले नकारात्मक उर्जाको स्रोतको रूपमा मान्छ । यसको प्रयोगले व्यक्तिमा अन्य बाहिरी उर्जा समेत प्रवेश गर्न नदिने र धेरै नकारात्मक भावहरू सोस्नसक्ने भएकाले यसको प्रयोग हानिकारक भनिएको छ ।

विभिन्न विज्ञानले फरक–फरक व्याख्या गरे पनि रङको प्रयोग कसरी र कति गर्ने भन्नेले स्वास्थ्यमा महत्वपूर्ण अर्थ राख्छ । विशेषगरी छाला स्वास्थ्यमा रङहरूको गलत प्रयोगले जटिलता निम्त्याउने चिकित्सकहरू बताउँछन् । होलीमा सप्तरङीसँगै चमकयुक्त रङको प्रयोग र फेस पेन्टको प्रचलन पनि बढ्दो छ । स्वस्थ छाला भएका व्यक्ति हुन् वा छालाको समस्या भएका बिरामीहरूका लागि रङको अधिक प्रयोग हानिकारक हुन्छ । रङहरूको जथाभावी प्रयोगले छालामात्रै नभइ आँखा तथा भित्री अंगहरूमा पनि गम्भीर असर पुर्याउनसक्ने विशेषज्ञहरू बताउँछन् ।

होलीमा रङहरूको प्रयोग कसरी प्रयोग गर्ने ?
छालारोग विशेषज्ञ डा.विकास पौडेल भन्नुहुन्छ– रङसँग एलर्जी भएका कसैले पनि रङको सम्पर्कमा आउनु हुँदैन । ओइली छाला भएका, डन्डिफोर वा यस्तैखाले समस्याको उपचार गराइरहेका व्यक्तिका लागि थप एलर्जी भएर छालाको धेरै भागमा फैलिँदै जानसक्छ । त्यसैले यस्ता व्यक्तिले रङसँग होली नखेलेकै राम्रो हुन्छ । कपर सल्फेक्ट, मर्करीजस्ता रसायन प्रयोग भएका रङहरूले छालालाई भित्रैसम्म एलर्जी गराउन सक्छन् । त्यसैले निलो, हरियो, कालो, खैरो रङहरू छालाको लागि हानिकारक हुन्छन् । यस्ता रङले छालामात्र नभइ मिर्गौलामा पनि असर पुर्याउने उहाँको भनाइ छ । क्यान्सरसम्म पनि गराउन सक्ने उहाँ बताउनुहुन्छछन् । छाला सुख्खा हुने र एलर्जी हुने पनि हुन सक्छ ।

आँखा र कपाल जोगाएर खेलौँ होली

जुनसुकै रङ भए पनि आँखामा परेमा हानिकारक हुने उहाँले बताउनुभयो । विशेषगरी निलो, सिल्भर, कालो रङहरू आँखामा परेमा सुन्निने, एलर्जी मात्र नभइ दृष्टि नै गुम्नसक्ने सम्भावना हुनेको उहाँको भनाइ छ । कपालमा रङको असरले कपालको प्राकृतिक रङ जाने, पछिसम्मै कपाल झर्ने, टाउकोको छालामा एलर्जी निम्त्याउन सक्ने उहाँले बताउनुभयो ।

सकेसम्म रङ थोरैबेर राखौँ
रङ लगाएरै होली खोल्ने हो भने प्राकृतिक रङ तथा अबिर, केसरीहरू प्रयोग गर्न सकिन्छ । सामान्यतः कडा रसायन प्रयोग भएको रङ नभए आधादेखि एक घण्टासम्म राख्दा रङले छालामा त्यति असर नगर्ने उहाँको भनाइ छ । लामो समयसम्म छाला चिलाउने, छालाको पत्रहरू निस्कने, किटाणुको संक्रमण हुनेजस्ता धेरै असर देखिनसक्ने भन्दै उहाँले सचेत गराउनुभयो ।

बालबालिका र वृद्धवृद्धाको छालामा रङ नलगाऔँ
बालबालिका र वृद्धवृद्धाको छालामा मोइस्चर कम हुने भएकाले यी व्यक्तिमा रङको घातक असर हुनसक्छ । त्यस्तै गर्भवती अवस्थामा प्रयोग गरिएको रसायनयुक्त रङले पेटभित्रको शिशुलाई समेत असर पुर्याउने डा.सविना भट्टराई बताउनुहुन्छ ।

छालामा लगाइएको रङ कसरी सफा गर्ने ?
डा.भट्टराईका अनुसार पहिले नै छालासम्बन्धी समस्या भएकाहरूले रङको प्रयोग गर्दै नगर्नु उपयुक्त हुन्छ । सामान्य छाला भएकाहरूले पनि रङ लगाएमा बढीमा १५ देखि २० मिनेटभन्दा धेरैबेर राख्नु हुँदैन । अनुहारमा भएको असर त्यही दिन मात्रै नभइ एक साताभित्रसम्म पनि देखिनसक्छ ।

“यदि, अनुहार वा अन्य छालामा रङ कडा भएर बसेको छ भने त्यसलाई बेस्सरी माडेर धुनु हुँदैन । कडा साबुन, फेस वास या अन्य वस्तुले रगडेर धुँँदा छालाका बाहिरी पत्र जानसक्ने सम्भावना हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले अनुहारको रङ सफा गर्न बच्चाको सबुन, स्याम्पु, कोमल खालको फेसवास प्रयोग गर्नुपछ । बरु एकपटकमा नगए पटक–पटक धुनु राम्रो हुन्छ ।”

  • ११ चैत्र २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech