भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०८०, बुधबार

नेपालगन्जः नेपाली कांग्रेस बाँकेले भेरी अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरेको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृति दिवसमा कांग्रेसले बुधवार विहान फलफूल वितरण गरेको हो । फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले नेपाली राजनीतिमा कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै कोइरालालाई शान्ति नायकका रुपमा चित्रण गर्नुभयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक मानिने कोइरालाले सुरु गरेको शान्ति प्रक्रियालाई दिगोरुपमा व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ । गिरिजाप्रसाद कोइरालामा जस्तो दृढ राजनीतिक इच्छाशक्ति अहिलेको पुस्तामा पनि आवश्यक रहेको अधिकारीको भनाइ छ । कार्यक्रममा उपसभापति कृष्णबहादुर कार्की, भेरी अस्पतालका अध्यक्ष विरेन्द्र बहादुर शाह, प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. पवनजंग रायमाझी लगायत कांग्रेस नेता कार्यकर्ता उपस्थित रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो ।

भेरी अस्पतालमा उपचाररत १०० जना विरामीलाई फलफूल वितरण गरिएको नेपाली कांग्रेस बाँकेका कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । गिरिजाप्रसाद कोइराला भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मनु भएको हो । गिरिजाप्रसाद कृष्णप्रसाद कोइराला तथा दिव्या कोइरालाका कान्छा छोरा हुनुहुन्छ ।

उहाँको जन्म हुँदा उनका बुबा–आमा निर्वासित जीवन बिताइरहनु भएको थियो । उहाँ चार पटक नेपालको प्रधानमन्त्री हुनु भएको थियो । उहाँका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला पनि नेपालका प्रधानमन्त्री हुनु भएको थियो । कोइरालाको निधन २०६६ साल चैत्र ७ गते ८५ वर्षको उमेरमा छोरी सुजाता कोइरालाको घरमा भएको थियो । सशस्त्र संघर्ष गरिरहेको नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँलाई एक निर्भिक र निडर नेताका रूपमा लिने गरिन्छ ।

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech