नेपालगन्ज: आज विश्व मुख स्वास्थ्य दिवस, मुख स्वास्थ्यका बारेमा जनचेतनामूलक कार्यक्रम गरि मनाइदैछ । दिवसको अवसरमा नेपाल डेन्टल एसोसिएसन बाँकेले नेपालगन्जमा निशुल्क शिविर आयोजना गरेको छ ।
यसैगरी आज बाँकेका सबै डेन्टल क्लिनिकहरुमा निशुल्क परामर्श तथा दाँत सफाइमा ५०% छुटको व्यवस्था मिलाइएको एसोसिएसनका सचिब पल्लभ उपाध्यायले जानकारी दिनुभयो । यसैगरी दाँत भने निशुल्क झिक्ने व्यवस्था गरिएको छ । डेन्टल क्लिनिकमा एक हप्तासम्म विशेष छुटको व्यवस्था गरिएको छ ।
उक्त शिबिरको सुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले मुख स्वास्थ्यका बारेमा चेतना जगाउन जरुरी रहेको बताउनुभयो । उहाँले मुखलाई स्वस्थ राख्न व्यक्तिले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मुख स्वास्थ्यका बारेमा सचेतता जगाउन उपमहानगरले एसोसिएसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । एसोसिएसन बाँकेका अध्यक्ष डा प्रतीक श्रेष्ठको अध्यक्षतामा भएको शिबिर उद्घाटनमा सल्लाहकारहरु डा विश्वनाथ चौधरी, डा श्याम चौधरी र डा द्वारिका प्रसाद बजगाइँ लगायत उपस्थित हुनु भएको थियो ।
सरकारले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सन् २००४ मा यससम्बन्धी नीति ल्याएको थियो। सन् २०१४ मा संशोधन गरेको हो। यद्यपि कार्यान्वयन पक्ष फितलो हुँदा दन्त स्वास्थ्य सरकारको प्राथमिकता नपरेको भान भइरहेको चिकित्सकहरु बताउँछन् ।
‘मुख स्वास्थ्यको क्षेत्रमा कार्यरत हुँदा पहिलेको तुलनामा यसबारे केही सचेतना भने बढेको देखिन्छ, तरपनि नेपालीहरुले मुख तथा दन्त स्वास्थ्यको स्याहारमा बेवास्ता गरेकै पाइन्छ,’ एसोसिएसनका बाँके अध्यक्ष समेत रहनु भएका गणपती डेन्टल क्लिनिकमा कार्यरत दा प्रतीक श्रेष्ठले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार मुख तथा दन्त उपचार सबैभन्दा महँगो उपचार मध्येको चौथो नम्बरमा पर्छ। यद्यपि विश्वको आधा भन्दा बढी जनसंख्यामा कुनै न कुनै प्रकारको दाँत तथा मुख स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको तथ्यांक छ।
दन्त उपचारमा प्रयोगमा हुने स्वास्थ्य सामग्री विदेशबाट आयात गर्नुपर्दा नेपालमा पनि अन्य उपचारका तुलनामा दन्त उपचार महँगोे पर्ने गर्छ। प्रत्येक ६/६ महिनामा मुख तथा दन्त उपचार गराउने परिपाटीको विकास गर्न सकेमा महँगोमा दन्त उपचार गर्नुपर्ने बाध्यता हटाउन सकिने उहाँले बताउनुभयो। रोग जटिल अवस्थामा पुगेपछि मात्रै उपचारमा आउनुे हुनाले उपचार महंगो भएको डा श्रेष्ठको भनाइ छ।