नेपालगन्जः नेपालगन्जस्थित मेडिकल कलेजमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले पश्चिम नेपालमै जटिल खालको यो शल्यक्रिया नेपालगन्जमा सम्भव भएको जनाएको छ । नेपालगन्ज उप-महानगरपालिका ११ की रेखा कश्यप र वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतकी दीपा गौतमको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
एक हप्ताको बीचमा अस्पतालमा दुई वटा अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा मेडिकल कलेजमा न्यूरो साइन्स विभाग संचालनमा आएपछि जटिल खालका शल्यक्रिया सम्भव भइरहेका छन् ।
न्यूरोसर्जन डा.मनिष कोलाक्षपति, डा.निरज घिमिरे, डा.सुबोध गौतम, डा.उपमा शर्मा र एनेस्थेसिया विभागबाट डा.नवीन कुमार रेग्मी, डा.कपिल पोख्रेललगायतको टिमले शल्यक्रिया गरेको हो ।
के हो त अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको ?
अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया हो । यस शल्यक्रियामा एनेस्थेसियोलोजिष्टले बिरामीले हात खुट्टा चलाउन लगाउँदै, आँखा देख्ने नदेख्ने हेर्न लगाउँदै र पुराना कुरामहरु सोध्दै शल्यक्रिया गर्ने गरिन्छ ।
हेर्नुहोस् विज्ञप्ती