किशोरीहरुमा रक्तअल्पताको समस्या विकराल

बाँकेमा दुई हजार आठ सय ४४ जना किशोरीमा गरिएको परीक्षणमा चार सय ३३ जनामा रक्तअल्पताको समस्या


    • प्रियास्मृति ढकाल

  • ३ चैत्र २०८०, शनिबार

नेपालगन्जः बाँकेका किशोरीहरुलाई रक्तअल्पताको समस्याले गाज्दै लगेको पाइएको छ । सन्तुलित खानपानको अभावका कारण किशोरीहरुलाई रक्तअल्पताको समस्याले गाज्दै लगेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुई हजार आठ सय ४४ जना किशोरीमा गरिएको परीक्षणमा चार सय ३३ जनामा रक्तअल्पताको समस्या देखिएको छ । तीमध्ये पनि सात जनामा कडा खाले रक्तअल्पता देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्सन देवराज उपाध्यायले बताउनुभयो ।

सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका आठ वटा पालिकाका १८ वटा विद्यालयमा ती किशोरीहरुको रक्त परीक्षण गर्दा १५ प्रतिशत किशोरीमा रक्तअल्पता देखिएको उपाध्यायले बताउनुभयो । सबैभन्दा धेरै राप्ती सोनारीमा रक्तअल्पताको समस्या देखिएको छ । सिद्देश्वर माध्यामिक विद्यालयमा ३५ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । दुई सय ६० किशोरीको नमुना जाँच गर्दा ९१ जनामा रक्तअल्पता कम देखिएको हो ।

त्यसैगरी लक्ष्मी माध्यामिक विद्यालय मदुईमा १२ प्रतिशत किशोरीमा रक्त अल्पता देखिएको छ । दुई सय ११ जनाको जाँच गर्दा २६ जनामा रक्तअल्पताको समस्या देखिएको हो । जानकी गाउँपालिकामा रहेको जानकी माविमा ५० जना किशोरीमा गरिएको जाँचमा १० जनालाई रक्तअल्पता देखिएको छ । यो २० प्रतिशत हो । सुर्योदय मावि चिसापानी बैजनाथमा २६ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । एक सय ३८ किशोरीको नमुना जाँच गरिएकोमा ३७ जनामा रक्तअल्पता देखिएको हो । यस्तै खजुरामा रहेको जनता नमुना माविमा दुई सय ६४ जना किशोरीको नमुना जाँच गर्दा ४७ जनामा रक्तअल्पता देखिएको छ । यो १८ प्रतिशत हो ।

‘समग्रमा हेर्दाखेरी किशोरीहरुमा रक्तअल्पताको समस्या विकराल देखियो उपाध्यायले भन्नुभयोे–‘समयमै यसको पहिचान गरेर रोकथाम गर्न जरुरी छ ।’ स्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षमा स्वीकृत सामुदायिक विद्यालयका किशोरीहरुको रक्तअल्पता परीक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत एउटा पालिकाको दुई वटा माध्यामिक विद्यालयका किशोरीहरुको रक्तअल्पता नमुना जाँच गरेको थियो । नरैनापुरमा भने विद्यार्थी संख्या न्यून भएका कारण चारवटा विद्यालयमा नमुना जाँच गरिएको थियो ।

‘यिनै किशोरीहरु भोलिका आमाहरु हुन् उपाध्याय भन्नुहुन्छ–‘यस्ता आमाहरुबाट जन्मिने शिशुहरु कुपोषित हुने जोखिमको सम्भावना बढी रहन्छ । यसले बाँकेमा कुपोषणको चक्र समेत तोडिदैन् ।’ बाँके कुपोषणको हिसावले पनि उच्च जोखिम जिल्लामा पर्छ । रक्त अल्पता कम देखिएका किशोरीहरुलाई आइरन वितरण गरिएको छ भने कडा रक्तअल्पता देखिएका किशोरीहरुलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । अस्पताल रिफर गरिएका किशोरीहरु रगत चढाउनु पर्ने अवस्थाका हुन् ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो । शरीरमा भएको रगतमा सामान्य भन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शारीरिक र मानसिक विकासमा वाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्तछ । थकाई लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि अलि काम गर्दा पनि स्वाँ….स्वाँ…. हुनु, मुटु ढुक्ढुक् हुनु, कहिलेकाहीं रिंगटा लाग्नु, मुर्छा पर्नु, गोली गाँठो माथि सुनिनु जस्ता लक्षण देखिएमा रक्तअल्पता भएको हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजो जस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तला जस्ता भिटामिन सी भएका खानाहरू र अन्य अमिला फलपूmलहरू कम खानु, पेटमा अकुंशे जूका पर्नुलगायतका कारणले रक्तअल्पताको समस्या हुने गरेको छ ।

प्रशस्त मात्रामा फलाम तत्व पाइने खानेकुराहरू खाने, रक्तअल्पता रोक्न भिटामिन ए र भिटामिन सी भएका खानेकुरा पनि खाने, अंकुशे जूका पर्नबाट बच्न सधै जुत्ता वा चप्पल लगाएर हिंड्ने, रक्तअल्पताको लक्षण देखिएमा र जूका परेको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य चौकीमा गएर जँचाई उपचार गर्ने, प्रत्येक ६–६ महिनामा जूकाको औषधि खाने, मलेरिया तथा कालाज्वरको रोकथाम गर्ने, रगतको कमी भएमा नजिकको स्वास्थ्य संस्थामा जँचाई आइरन चक्की खाने हो भने रक्तअल्पताको समस्याबाट छुट्करा मिल्ने चिकित्सकहरु सुझाउँछन् ।

  • ३ चैत्र २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech