अन्तर्राष्ट्रिय महिला दिवस : एच.आइ.भि.एड्स लगायतका विषयमा प्यानल डिस्कसन

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०८०, शुक्रबार

नेपालगन्ज: लैङ्गिक समानता, सामाजिक समावेशीकरण एवं एच.आइ.भि.एड्स सम्बन्धी नीति, त्यसको कार्यन्वयनको अवस्था र भोलिको सोचका विषयमा नेपालगन्जमा छलफल गरिएको छ । नगर स्तरीय लैङ्गिक हिंसा निगरानी सञ्जाल नेपालगन्जको आयोजना र ए.एच.एफ नेपालको सहयोगमा सरोकारवाला बीच प्यानल डिस्कसन गरिएको हो ।

११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख कमरुद्दीन राई , भेरी अस्पताल नेपालगन्जमा कार्यरत फिजिसियन तथा एड्स फोकल पर्सन डा.संकेत रिसाल, नेपालगन्ज उप-महानगरपालिकाका महिला बिकास अधिकृत मन्जु पाण्डे , ए.एच.एफ नेपालका केन्द्रिय कार्यक्रम प्रबन्धक दिव्यराज जोशी, पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले कार्यक्रममा उठेका विभिन्न सवालका विषयमा जवाफ दिनुभएको थियो ।

कार्यक्रममा लैङ्गिक समानताका लागि राज्यले बनाएका केही नितिहरु परिवर्तन गरि कार्यान्वयन हुन आवश्यक रहेको औल्याईएको थियो । केही सहभागीहरुले एच.आइ.भि.एड्सका बारेमा जनचेतना अझै पर्याप्त नभएको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताए ।

कार्यक्रममा एच.आइ.भि.एड्सका सवालमा क्रियाशिल भेरी अस्पतालका फिजिसियन डा.संकेत रिसालले अहिले एड्सका बारेमा मानिस खुुलेर बोल्न थालेको र जनचेतना तिब्र फैलिएको बताउँनुभयो । उहाँले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेर नियमित औषधि सेवन गरे यो रोग नियन्त्रणमा राख्न सकिने समेत जानकारी दिनुभयो ।

डा.रिसालले भेरी अस्पतालबाट संक्रमित बिरामीहरुले सजिलै सेवा लिईरहेको भन्दै अस्पतालबाट प्रदान भइरहेको सेवाका बारेमा समेत जानकारी दिनुभयो ।

कार्यक्रममा पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले समाजले आफुहरुलाई तेस्रो लिङ्गी भएकै कारण फरक दृष्टिकोणले हेर्ने गरेको भन्दै लैङ्गिक विवेधका कारण आफुहरुले भोग्नुपरेको समस्या सुनाउँनुभएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech