भरतपुर: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताउनु भएको छ । आज चितवनको भरतपुरमा भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो ।
उहाँले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको समेत बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि नि:शुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएको उल्लेख गर्नुभयो ।
भरतपुर भ्रमण वर्षको उद्घाटन गर्न चितवन आएका बेला प्रधानमन्त्रीले आँखा अस्पतालको साढे ३ तलाको सुविधा सम्पन्न भवनको उद्घाटन गर्नुभएको हो । १३ करोड ५० लाख रुपैयाँ लागतमा अस्पताल भवन निर्माण गरिएको हो । नयाँ भवन बनेपछि सेवा प्रवाहमा सहजता हुने अस्पतालले जनाएको छ ।