नेपालगन्जः काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ । प्रहरीको विशेष टोलीले चोरी भएको बच्चा सूचना पाएको आठ घण्टापछि फेला पारेको हो ।
काठमाडौं प्रहरीको विशेष टोली र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काँडाघारीबाट बच्चाको उद्धार गरेको हो । सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ ।
बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ । महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाकी दिदी र उनका श्रीमानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।