स्वास्थ्य संस्थामा गरिने परीक्षण र उपचारको शुल्क निर्धारण गर्न तोसिमा कार्कीको माग

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०८०, बिहीबार

नेपालगन्जः राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुले गर्ने परीक्षण र उपचार खर्चमा एकरुपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताउनुभयो ।

उहाँले परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा नीजि र सरकारी स्वास्थ्य संस्थाहरुले आफूखुशी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताउनुभयो । एउटै ल्याब परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।

‘सभामुखमार्फत स्वास्थ्यमन्त्रीज्युलाई आग्रह गर्दछु, स्वास्थ्य मन्त्रालय अन्तर्गतको शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाइयोस् । र स्वास्थ्य संस्थाहरुमा दिइने स्वास्थ्य सेवाहरुको वर्गिकृत आधारमा शुल्क निर्धारण गरेर नागरिकले थाहा पाउने व्यवस्था मिलाइयोस्’, उहाँले भन्नुभयो, ‘हामीसँग विज्ञहरु पनि छन् । कस्तो गर्न सकिन्छ, कसरी गर्न सकिन्छ भनेर खाका पनि छ । मागोस्, सोधोस्, खोजोस् । हामी तयार छौँ सहयोग गर्नका लागि ।’ उहाँले बिरामीहरु कहाँ सस्तोमा उपचार गर्न पाइन्छ भनेर भौँतारिएर हिँड्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

  • १० फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech