१३ गतेदेखि बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • ९ फाल्गुन २०८०, बुधबार

नेपालगन्जः नेपालगन्जमा ४२ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइँदैछ । फाल्गुन १३ देखि १९ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका ९ महिनादेखि १५ वर्ष मुनीका ४२ हजार २ सय ७० बालबालिकालाई खोप लगाउन थालिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

‘प्रत्येक वडाका कम्तीमा तीन वटा सामुदायिक विद्यालयलाई खोप केन्द्र तोकेर खोप लगाउँदैछौं,’ स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयोे–‘दादुरा खोप लगाउन प्रत्येक घरमा हामीले निमन्त्रणा कार्ड पनि पठाउँदैछौं ।’ खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । चन्दले नेपालगन्ज उपमहानगरपालिकामा ८० प्रतिशत खोप कभरेज भएपनि वडागत रुपमा एकरुपता नरहेको बताउनुभयो ।

गत वर्षको मंसिर ३ गतेदेखि पुस १५ गतेसम्म नेपालगन्जमा दादुराको महामारी फैलिएको थियो । त्यसक्रममा २१४ जना दादुरा संक्रमित बालबालिका फेला परेका थिए । एक जना बालकको ज्यानै गएको थियो । महामारी फैलिनासाथ सुरु गरिएको खोप अभियानमा सतप्रतिशत बालबालिकाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक नगर प्रमुख कमरुद्दिन राईले दादुरा–रुबेला खोप अभियानलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जिल्लामा दादुरा–रुबेला विरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन सबैको सहयोग र हातेमालो आवश्यक रहेको बताउनुभयो । पालिका स्तरीय वैठकमा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य लगायत उपस्थित थिए ।

नेपाल सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यसअघि सन् २०२३ मा निवारण गर्ने लक्ष्य लिइएकोमा केही जिल्लाहरुमा महामारीकै रुपमा दादुरा देखिएपछि सन् २०२६ लाई नयाँ लक्ष्य तोकिएको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा ४ प्रतिशतले खोपै लगाएका छैनन् भने १६ प्रतिशतले आंशिक खोप मात्र लगाएका छन् ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech