- प्रियास्मृति ढकाल ।
नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिका–१ लौकीमा रहेको सिद्देश्वर महादेव माध्यामिक बिद्यालयमा अध्ययनरत छात्रामा वेहोस हुने समस्या देखिएको छ । गएको शुक्रबारदेखि विद्यालयका कक्षा ७ र कक्षा १० मा अध्ययनरत छात्रामा चिच्याउने, बर्बराउने, अर्धअचेत हुने लगायतका लक्षणहरु देखिएको विद्यालयका प्रधानाध्यापक आदित्य जिसीले बताउनुभयो ।
उहाँका अनुसार गएको शुक्रबार कक्षा ७ मा अध्ययनरत एक जना छात्रामा उक्त प्रकृतिको लक्षण देखिएको थियो । त्यसपछि आज फेरी कक्षा ७ मा अध्ययनरत थप ३ जना र कक्षा १० मा अध्ययनरत एक जना छात्रामा उही प्रकृतिको लक्षण देखिएको छ । ‘दुई जना छात्राको अवस्था सामान्य भएर कक्षा लिन थालिसकेका छन् प्रअ जिसीले भन्नुभयोे–‘तीन जना छात्रालाई थप आरामका लागि अभिभावकको जिम्मा लगाएर घर पठाएका छौं ।
विद्यालयको पढाइ रोकिएको छैन ।’ बिद्यालयका छात्राहरुमा देखिएको लक्षण र उपचारका विषयमा राप्ती सोनारी गाउँपालिका कार्यालयलाई समेत जानकारी गराइसकेको प्रअ जिसीले बताउनुभयो । ‘कुमुस स्वास्थ्य चौकीबाट दुई जना स्वास्थ्यकर्मी आएर छात्राहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभयो’ उहाँले भन्नुभयोे ।
किन हुन्छ यस्तो समस्या ?
यो समस्यालाई आम मानिसहरुले ‘मास हिस्टेरिया’ भनेर चिनेपनि चिकित्सकिय भाषामा यसलाई कन्भर्सन डिसअर्डर भनिन्छ । यो तनाव सम्बन्धी रोग रहेको नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटीमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डा.जोशन न्यौनेले बताउनुभयो । उहाँका अनुसार कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो ।
अत्याधिक तनावको कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन्छ । ‘मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्राहरु लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन’ डा. न्यौपानेले स्वास्थ्य पेजलाई भन्नुभयोे । शारीरिक र मानसिक रुपले वृद्धिविकास हुने उमेर समुहका युवतीहरुमा यो समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् । ‘समान्य किसिमको तनाव सबै मानिसलाई हुन्छ । आफुलाई आइपर्ने समस्याको समाधान गर्न नसक्दा, तनाव व्यवस्थापन गर्न नसक्दा वा त्यसलाई सहन नसक्ने र अरूलाई पनि व्यक्त गर्न नसक्दा कन्भर्सन डिसअर्डर हुने गर्छ,’ डा.न्यौपानेको भनाइ छ ।
प्राय छात्राहरुमा विद्यालयमा भएको समयमा कन्भर्सन डिसअर्डरको समस्या देखिने गरेको छ । समस्या देखिएपछि विद्यालयले कक्षकोठाभित्रै लाइन लगाएर विद्यार्थीको हेरविचार गर्ने गरेको छ । यस्ता रोग भएका विरामीलाई एक्लै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । ‘सबै विद्यार्थीलाई एउटै कोठामा राख्दा उनीहरुको डर र मानसिक तनाव कम हुन सक्दैन । साथै अन्य विद्यार्थीहरुलाई पनि विरामी विद्यार्थीसँग राख्दा त्यहि लक्षणको सम्भावना भएको विद्यार्थी छ भने उलाई पनि लक्षणहरु देखिन सुरु हुन्छ । डा. न्यौपानेका अनुसार कन्भर्सन डिसअर्डरको उपचार मानसिक तनावलाई कम गर्नु नै हो ।
उहाँले भन्नुभयोे–‘कन्भर्सन डिसअर्डर भएमा विद्यालयमा अन्य विद्यार्थी र शिक्षकहरु पनि डराउने गर्छन् जसको कारण रोगले ठूलोरुप देखिने गरेको छ । यो रोग क्षणिक मात्रै लक्षण देखिने र अन्य कुनै दिर्घकालिन असर भने छैन’ तर समस्यालाई लुकाउँदै गयो भने यसको अन्य नकारात्मक प्रभाव पर्ने गर्छ ।’
यस्तो अवस्थामा कतिपयले देउता चढेको भनेर गलत प्रचार गरेको पाइन्छ । कतिपय त धामी झाक्रीमा समेत जाने गरेका छन् । यो सबै भ्रम हो । धामी झाक्रीतिर अल्झिनु भन्दा तनाव व्यवस्थापनमा ध्यान दिए यो समस्याबाट मुक्ती मिल्ने चिकित्सकहरु बताउँछन् ।
छात्राहरुमा बढी समस्या
कन्भर्सन डिसअर्डरको लक्षणहरु सबैमा उस्तै नहुने र एउटा विरामीलाई एउटा किसिमको मात्रै लक्षण देखिने चिकित्सकहरु बताउँछन् । यो समस्या छात्रा छात्र दुवैमा देखिन सक्ने भएपनि धेरैजस्तो युवतिहरुमा मात्रै देखिने गरेको छ । मनोचिकित्सक डाक्टर जया रेग्मीलेका अनुसार महिनावारीको समस्या, हर्मोन परिवर्तनको कारणले पनि छात्राहरुमा यो समस्या बढि देखिएको हो ।
‘समाजमा महिलाहरुलाई हेर्न दृष्टिकोणमा अझै पनि परिवर्तन आइसकेको छैन । महिलाहरु सानै देखि समाजिक परिवन्धमा हुर्किएका हुन्छन् त्यसैले उनीहरुको दिमागमा एक किसिमको डर र त्रासले बास लिएको हुन्छ ।
अर्को कुरा महिनावारीको समयमा दिक्क लाग्ने, पेट दुख्ने समस्या हुन्छ’ डा रेग्मीले भन्नुभयो, ‘यस्तो अवस्थामा उनीहरलाई केही समस्या भएमा आफुसँग समाधानको उपाय नभएमा र अरुलाई भन्ने वातावरण पाएनन् भने आफ्नो समस्यालाई मन भित्रै गुम्साउछन् । उसको मनले कन्ट्रोल गरेसम्म केही समस्या देखिदैन । यदि यसलाई कन्ट्रोल गर्न नसक्दा कन्भर्सन डिसअर्डरकोलक्षणहरु बाहिर आउँन थाल्छ ।’यो रोग महिनावारीसँग सम्बन्धित रोग भने नभएको उहाँको भनाइ छ ।