नेपालगन्जः स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले सफाई पाउनु भएको छ । विशेष अदालतका न्यायधीश टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले शाही, तत्कालीन स्टोर किपरसहित तीनै जनालाई सफाई दिने फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएसँगै तत्कालीन कार्यालय प्रमुख शाहीसहित तत्कालीन स्टोर किपर गोविन्द खनाल र बाँकेको डुडुवा गाउँ कार्यापालिका कार्यालयमा सिअहेव छैठौं पदमा कार्यरत सिताराम चौधरी निलम्वनमा पर्नु भएको थियो ।
मेडिकल सामग्रीहरु खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरु तयार गरी भुक्तानी लिने दिने कार्य गरेको दावीसहित अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा आधार नभेटिएको भन्दै विशेष अदालतले तीनै जनालाई सफाई दिने फैसला गरेको हो । विशेषको यो फैसलासँगे अख्तियारले आवश्यक अनुसन्धाननै नगरी मुद्दा दायर गरेको पुष्टि भएको छ ।