नेपालगन्जः नेपालमा पहिलो पटक मुटुको ‘डबल स्वीच शल्यक्रिया’ सफल भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अति जटिल र जोखिमयुक्त मानिने उक्त शल्यक्रिया सफतापूर्वक भएको हो । यसअघि नेपालमा यस्तो शल्यक्रियाको प्रयास समेत गरिएको थिएन ।
नवलपरासीको १४ वर्षीया बालिकामा गरिएको उक्त शल्यक्रिया सफल भएको शल्यक्रियामा संलग्न डा. रविन्द्रभक्त तिमलाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । ती बालिकामा सानैदेखि निलो हुने, दौडिन नसक्ने र बेला–बेलामा अर्धचेत हुने समस्या देखिँदै आएको थियो । चिकित्सकका अनुसार कमजोर आर्थिक कारणले परिवारले उनको उचित उपचार गर्न सकिरहेका थिएनन् ।
डा. तिमलाका अनुसारसाइटस इनभर्सस, करेक्टेड ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, पल्मोनरी स्टेनोसिस जस्ता चारवटा संरचनागत त्रुटी भएको बालिकाको मुटुको र बाहिर गरी दुई ठाउँमा रगत विपरीत ठाउँमा बगिरहेको थियो ।
शल्यक्रियामार्फत भित्र र बाहिर दुवैतर्फ रगत बग्ने बाटो मिलाइएको डा. तिमलाले बताउनुभयो । उहाँका अनुसार प्राविधिक रुपमा ‘सेनिङ’ र ‘रुस्टेली’ नामक दुई वटा छुट्टै शल्यक्रिया गर्न उक्त बालिकाको साढे चार घन्टा मुटु पूरै बन्द गरिएको थियो ।
यस्तै शल्यक्रिया गर्न १० घन्टा लागेको थियो । चिकित्सकका अनुसार ती बालिका केही दिनमै डिस्चार्ज गर्न लागिएको छ ।उक्त बालिकाको उपचार सरकारको कार्यक्रम अन्तर्गत निःशुल्क गरिएको थियो । डा. तिमलाको नेतृत्वमा डा.मरिषा अर्याल, डा. सुजन बोहरा र डा. सन्दीप भण्डारीको टीमले उक्त शल्यक्रिया गरेको हो ।