नेपालगन्जः बाँके खजुरा गाउँपालिका–३ का ५६ वर्षीय रत्न प्रसाद शर्माको अचानक दिसापिसाव रोकियो । परिवारले तत्काल भेरी अस्पतालमा ल्याए । माघको तीन गते अस्पताल भर्ना भएका उहाँलाई ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा.कृष्ण मोहन अधिकारीले आवश्यक चेकजाँच र रिपोर्ट हेरेपछि ठूलो आन्द्रामा क्यान्सर फैलिएको पुष्टि गर्नुभयो । तत्काल शल्यक्रिया गर्नुपर्ने सुझाव दिनुभयो । र उहाँको भोलिपल्टै शल्यक्रिया भयो । माघ चार गते शल्यक्रिया गरिएका शर्माको स्वास्थ्य अवस्था अहिले सामान्य छ । रत्नका छोरा कृष्णले स्वास्थ्य पेजलाई भन्नुभयोे–‘बुवाको स्वास्थ्य अवस्था अहिले नर्मल छ । दिसा पिसा नियमित र सहजै भइरहेको छ ।’ आन्द्रामा क्यान्सरको शल्यक्रिया यसैपनि जटिल हुने डा. अधिकारीको भनाइ छ । त्यसैमा बिरामीको अवस्थाले पनि धेरै कुरा निर्धारण गर्छ ।
शर्माको २०५६–५७ सालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो । उहाँ मुटुका रोगी समेत हुनुहुन्छ । त्यसैले यो शल्यक्रिया जटिल मानिएको हो । जटिल शल्यक्रिया पनि सफलतापूर्वक भएपछि भेरी अस्पतालमा पेट सम्बन्धी समस्या भएका जटिल खाले बिरामीको उपचार सम्भव हुन थालेको छ । शर्मा जस्तै कोलोरेक्टल क्यान्सर भएका अन्य बिरामीहरुको पनि भेरी अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएको ग्यास्ट्रो तथा हेपाटोविलियरी सर्जन डा. अधिकारी बताउनुहुन्छ । पेट सम्वन्धी समस्या भएका बिरामीहरु यसअघि उपचारका लागि भारतको लखनउ र काठमाडौ जानु पर्ने बाध्यता थियो ।
तर डा. अधिकारी आएसँगै भेरी अस्पतालमा पेट सम्बन्धी जटिल खालका शल्यक्रिया हुन थालेका छन् । जसका कारण बिरामीहरुले अनावश्यक झन्झट् खेप्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने आर्थिक व्यभार पनि जोगिएको छ । ‘डा. अधिकारी भेरी अस्पतालमा नभएको भए बुवालाई कि लखनउ कि काठमाडौं लग्नु पर्ने थियो । रोगको पहिचान गर्नै महिनौं लाग्थ्यो । आर्थिक भार पनि ठुलै पथ्र्थो होला । तर भेरी अस्पतालमै उपचार भएपछि खर्च पनि धेरै जोगियो’–छोरा कृष्णले भन्नुभयोे । डा. अधिकारीको नेतृत्वमा असिस्टेट सर्जन सन्तोष श्रीपालीसहितको टीमले पित्त थैली, पित्त नली, आन्द्रा तथा मलाशयको जटिल खाले शल्यक्रिया गर्दै आएको छ । ‘सबै प्रकारको पेटको दुखाइ तथा पेटको क्यान्सर सम्वन्धी उपचारहरु नेपालगन्जमै सम्भव छ डा.अधिकारी भन्नुहुन्छ–‘पित्त थैली, पित्त नली, एपेन्डिक्स तथा हर्नियाको समस्या, सानो आन्द्रा, ठूलो आन्द्रा लगायतको समस्याको उपचार खोज्न लखनउ र काठमाडौं जानु पर्दैन् ।’
ठूलो आन्द्राको क्यान्सर भन्नाले ठूलो आन्द्राको कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई जनाउँछ । संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ । नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिन दिनै बढ्दोक्रममा रहेको चिकित्सकहरु बताउँछन् । विकसित देशहरुमा ठूलो आन्द्राको क्यान्सर निकै सामान्य भइसके पनि नेपालमा यसबारे जनचेतनाको अभावले र समयमा निदान तथा उपचार हुन नसक्दा ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परेको छ । ठूलो आन्द्राको क्यान्सरको सुरूवात आन्द्राको भित्रपट्टिको माथिल्लो तहमा मासुको डल्लो (पोलिप) पलाउनाले हुने गर्छ ।
सबै पोलिप सुरूको अवस्थामा हानिकारक हुँदैनन्, तर यि (पोलिप) हरूलाई समयमै पहिचान गरेर निकाल्न सकिएन भने, भविष्यमा यसबाट ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरु बताउँछन् । मोटोपना, अल्छी, व्यायाम कसरत नगर्ने, अत्यधिक मात्रामा धुम्रपान र मध्यपान सेवन गर्ने धुँवामा सेकेको खानेकुरा (सेकुवा, सुकुटी) बढी खाने, सागसब्जी कम खाने र रातो मासु बढी खाने प्रशोधीत खानेकुराहरू जोखिमका कारणहरु मध्ये पर्ने चिकित्सकहरु बताउँछन् ।
अरू केही यस्ता पनि जोखिमका कारण छन् जुन हामीले परिवर्तन गर्न सक्दैनौं। जस्तै बढ्दो उमेर इन्फलामेटी बावेल डिजीज, परिवारमा कसैलाई यस्तो रोग भएको वंशाणुगत कारण छन् भने ठूलो आन्द्रामा क्यान्सरको जोखिम हुने सक्भावना बढेर जान्छ । यस्तो अवस्थामा होसियार हुन जरूरी छ । उमेर पुगिसकेपछि स्क्रीनिङमा जान जरूरी हुन्छ । स्क्रीनिङ जाँचले समयमै रोगको पहिचान गर्न सहयोग गर्छ । जसले गर्दा रोग समयमा निर्मुल पार्न सकिने चिकित्सकहरु बताउँछन् ।