काठमाडौंकी ५९ वर्षीया दीपा दीक्षित रातो बंगला स्कुलमा शिक्षिका हुनुहुन्थ्यो । जीवन राम्रोसँग चलिरहेकै थियो । दिनभरि स्कुल र बिहान बेलुका घरको काममा उहाँ व्यस्त हुनुहुन्थ्यो । एक्कासि उहाँलाई खाना रुच्न छाड्यो । त्यसअघि उहाँ भारत घुमेर आउनुभएको थियो । त्यहाँ बस्दा खानपान नमिलेर वा संक्रमण भएर खाना नरुचेको हो कि भनेर उहाँले औषधि खानुभयो । तैपनि समस्या समाधान भएन । बिस्तारै फिटिक्कै खाना खान मन लाग्न छाड्यो, पेट पनि फुल्न थाल्यो । स्कुलमा भएकै बेला उहाँलाई पेट फुलेर गाह्रो भइरहेको थियो । छिट्टै काम सकेर उहाँ अस्पताल पुग्नुभयो । पेट फुलेको कारण चिकित्सकले उहाँलाई अल्ट्रासाउन्ड गर्ने सल्लाह दिए । उहाँले डा.बेनु लोहनीलाई चिन्नुभएको थियो । त्यसैले उहाँले डा बेनुलाई नै भेटेर अल्ट्रासाउन्ड गर्ने निधो गर्नुभयो र सिवेक अस्पतालमा गएर अल्ट्रासाउन्ड गर्नुभयो ।
अल्ट्रासाउन्डको रिपोर्ट आयो डा बेनुले दीपालाई आफ्नो कोठामा बोलाउनुभयो र रिपोर्ट हेरेर भन्नुभयो, ‘दिदी तपाईं स्ट्रोङ हुनुपर्छ । तपाईंलाई त क्यान्सर भए जस्तो लाग्छ, तैपनि भोलि सिटिस्क्यान गर्न एक पटक टिचिङ अस्पताल आउनुस् न ।’ त्यो सुनेर एक छिन त उहाँलाई एकदमै गाह्रो भयो तर धेरै आत्तिनु भएन । घर पुग्नुभयो श्रीमानलाई रिपोर्टको बारेमा सुनाउनुभयो । भोलिपल्ट टिचिङ अस्पताल पुग्नुभयो सिटिस्क्यान गर्न । सिटिस्क्यानबाट उहाँलाई तेस्रो स्टेजको पाठेघरको क्यान्सर भएको पुष्टि भयो ।
त्यो सुनेर उहाँलाई छाँगाबाट खसे जस्तो भयो । डा बेनुसँगै अन्य तीन जना चिकित्सकले उहाँको रिपोर्ट हेरेर ‘तपाईं आत्तिनु पर्दैन, अभिनेत्री मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर त निको भयो । तपाईंको त तेस्रो स्टेजको निको भइहाल्छ नि’ भनेर भन्नुभयो । चिकित्सकको कुरा सुनेर उहाँलाई हिम्मत मिल्यो । उहाँले सोच्नुभयो मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर निको भयो भने मेरो तेस्रो स्टेजको क्यान्सर निको भइहाल्छ नि । उहाँको क्यान्सर अलि जटिल भएकाले भारतको गुडगाउँस्थित फोर्टिस अस्पतालमा जाने सल्लाह पाउनुभयो । भोलिल्टै भारत पुग्नुभयो र डा रमा जोशीलाई भेट्नुभयो । भारत पुगेको १० दिनपछि उहाँको किमोथेरापी सुरु भयो । तीनवटा किमो दिएर सुकाइयो । एक महिनापछि शल्यक्रिया भयो । १८ घण्टे शल्यक्रिया सफल भयो । फेरि तीनवटा किमो दिइयो ।
दीपा सुनाउनुहुन्छ, ‘किमोथेरापी दिंदा धेरै साइड इफेक्ट हुन्छ, गाह्रो हुन्छ भन्ने सुनेकी थिए । तर मलाई भने खासै समस्या भएन । सायद औषधिसँगै मेरो आत्मबलले उपचारमा सहज भइरहेको थियो ।’ उहाँको आत्मबल देखेर चिकित्सकहरू पनि छक्क पर्ने गर्थे र भन्ने गर्थे( ‘यस्तो हिम्मतवाला बिरामी त हामीले अहिलेसम्म देखेका थिएनौं ।’ छ महिना भारतमा बसेर उपचार सकाएर उहाँ नेपाल फर्किनुभयो । ‘मलाई क्यान्सर भयो भनेको सुनेर म धेरै डराइनँ । मेरो अगाडि अभिनेत्री मनीषा कोइराला र सोनाली बेन्द्रे थिए, जसले क्यान्सरलाई जितेका थिए,’ उहाँ भन्नुहुन्छ ‘क्यान्सर भयो अब म मर्छु होला भन्ने कहिल्यै लागेन, हिम्मत हारिनँ ।’
परिवारका सदस्य र साथीभाइ उहाँको नजिक आएर रुँदा उहाँ सोच्नुहुन्थ्यो ‘किन रोएको होला उपचार भइसक्यो निको हुन्छ, भएन भने पनि मरिन्छ अजम्बरी को छ र ?’ परिवार, साथीभाइको सहयोग, उपचार र आत्मबलले उहाँले क्यान्सरलाई जित्नुभयो । त्यसपछि कोरोना महामारीका कारण लकडाउन भयो । उहाँले नेपालमै फलोअप गराइरहनु भएको थियो । साढे दुई वर्षपछि फलोअपकै विभिन्न जाँच गर्ने क्रममा क्यान्सर थोरै बढेको देखियो । यो पटक पनि उहाँ आत्तिनु भएन । उपचारपछि निको भइहाल्छ भन्ने सोच्नुभयो । त्यसपछि फेरि किमोथेरापी दिइयो र फेरि पनि उहाँले क्यान्सरलाई जित्नुभयो । साढे दुई वर्ष भयो, उहाँको जीवन अहिले सामान्य तरिकाले चलिरहेको छ ।
‘हामीले आफ्नो शरीरलाई माया गर्नुपर्छ । घरपरिवार, इष्टमित्र सबैको हेरचाह गर्दागर्दै हामी आफ्नो शरीरको हेरचाह गर्न भने भुल्छौं । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ,’ उहाँ भन्नुहुन्छ, ‘त्यसैले सबैभन्दा पहिले आफ्नो शरीरलाई माया गर्नुपर्छ । हामी आफू स्वस्थ भयौं भने मात्र अरूको हेरचाह गर्न सक्छौं ।’ उहाँ थप्नुहुन्छ, ‘क्यान्सर हुँदैमा मृत्यु हुँदैन । यो एउटा निको हुने रोग हो । पहिलेभन्दा अहिले यो रोगबाट धेरै मानिस बाँचिरहेका छन् । त्यसैले आशा गर्न नछाडौं ।’ क्यान्सरप्रति हरेक व्यक्ति सचेत भएर नियमित स्वास्थ्य जाँच गराए यो रोग लागे नलागेको बेलैमा थाहा हुने र प्रारम्भिक चरणमै उपचार गराए यसबाट बच्न सकिने दीपाको अनुभव छ ।