नेपालगन्जः बर्दियाको ठाकुरबाबा नगरपालिका–६ स्थित शिवपुर स्वास्थ्य चौकीमा निःशुल्क प्राथमिक कान उपचार शिविर गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्जको आयोजना तथा ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको समन्वयमा कान उपचार शिविर गरिएको हो । उक्त शिविरमा १२० जनाको कानको चेकजाँच गरिएको थियो । त्यसमा ४२ जना पुरुष थिए भने ७८ जना महिला थिए । शिविरमा चेकजाँच गराएकामध्ये ४१ जनामा कान पाक्ने समस्या देखिएको कान चिकित्सक भिषण कुमार थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार ८ जनामा भने कान नसुन्ने समस्या देखिएको थियो । कान चिकित्सकसहित आउट रिच इन्चार्ज दामोदर चौधरीले कान चेकजाँच गरेका थिए । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाले स्थानीय सरकारसँगको समन्वयमा निःशुल्क शिविर गर्दै आएको छ । गाउँघरमै पुगेर कान स्वास्थ्यको आवश्यकता, महत्व र उपचारबारे परामर्श दिने गरिएको आउट रिच इन्चार्ज चौधरीले बताउनुभयो ।
जनचेतनाको अभावका कारण अझैपनि मानिसहरु कान स्वास्थ्यबारे चासो राखेको पाइदैन् । समस्या आएपछिमात्रै चिकित्सक कहाँ पुग्ने गरिएको पाइएको छ । अवस्था जटिल भइसकेपछि मात्रै चिकित्सकसँग पुग्दा त्यसले विकरालरुप लिने जोखिम बढी हुन्छ । त्यसैले कान चिकित्सकहरुले समयमै कान स्वास्थ्यबारे चेकजाँच र परामर्श लिन सुझाव दिने गरेका छन् ।