आज विश्व क्यान्सर दिवस, क्यान्सर कसरी हुन्छ, यसबाट बच्न के गर्ने ?

    • स्वास्थ्य पेज

  • २१ माघ २०८०, आईतवार

काठमाडौं: आज विश्व क्यान्सर दिवस, क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

के हो क्यान्सर ?

विश्वमा सबैभन्दा धेरै मुत्यु गराउने रोगमध्ये प्रमुख रोग क्यान्सर हो। क्यान्सर बालकदेखि वृद्धसम्म जुनसुकै उमेर समूहलाई लाग्ने रोग हो। यो रोग शरीरका जुनसुकै अंगमा लाग्न सक्ने चिकित्सकको भनाइ छ। विश्वव्यापी रूपमा हेर्दा पुरुष र महिलाको हकमा फोक्सोको क्यान्सर र महिलाको हकमा पाठेघर र स्तनको क्यान्सर सबैभन्दा बढी मात्रमा लाग्ने गर्दछ।

क्यान्सर आफैमा गंभिर प्रकारको रोग मानिन्छ । शरीरमा दुई सयभन्दा बढी आकारप्रकारका स–सना कोष तथा कोषिका हुन्छन्, यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर, खराब जीवनशैली र वाह्य वातावरणिय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ । र, स–साना गिर्खा बन्छ । यी गिर्खामध्ये एकखाले हुन्छ, सामान्य अवस्थाका । जो दुख्दैन र धिमा गतिमा मात्र बढ्छ । यसले शरीरलाई खासै हानी गरिररहेको हुँदैन अर्कोखाले हुन्छ, छिटोछिटो बढ्ने । एकस्थानबाट अर्कोमा सर्ने । यस किसिमको गिर्खा नै क्यान्सर हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ । डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

यस्तै सबैभन्दा धेरै फोक्सोको अर्बुद रोग देखिएको छ । स्तन, प्रोस्टेट, कोलोरेक्टम, पेट, कलेजो र मूत्राशयमा अर्बुद रोग बढी हुने गरेका छन् । नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि डब्लुएचओका अनुसार नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ ।

यस्तै पुरुषमा फोक्सो, पेट र कलेजोमा अर्बुदको रोग बढी हुने गर्छ ।

क्यान्सरका कारण

१.चुरोट, खैनी, सूर्ति आदिको सेवनले क्यान्सर निम्त्याउँछ । यस्ता पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरुमध्ये करिब ४० प्रकारका हानिकारक रासायनिक तत्व हुन्छ, जसले क्यान्सर गराउँछ ।

२. जाँडरक्सीको सेवनले क्यान्सर गराउँछ । खासगरी मुख, अन्ननली, पेट आदिको क्यान्सरमा मद्यपान नै जिम्मेवार रहेको पाइन्छ ।

३. हामीले खानेकुरा सवै स्वस्थ्यकर हुँदैनन् । ति अस्वस्थ्यकर खानेकुरा क्यान्सरको कारण हुन् । बासी, सडेगलेको, ढुसी परेका, तारेको, डढेको आदि खानेकुराले क्यान्सर निम्त्याउँछ । यसले कलेजो, आन्द्रा, आमाशय आदिलाई नष्ट गर्छ ।

४. वातावरणिय प्रदूषण पनि क्यान्सरको कारण बन्छ ।

५.  त्यस्तै उपकरणिय विकिरणले क्यान्सरको जोखिमलाई बढाउँछ ।

क्यान्सरबाट कसरी बच्ने ?

. जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

. क्यान्सर गराउन सक्ने सम्भावित पक्ष जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने ।

. सडेगलेका, प्रशोधित खानेकुरा, जंकफुड नखाने ।

. शारीरिक रुपमा सक्रिय रहने । नियमित व्यायाम, योग, प्राणायाम गर्ने ।

. तनाव नलिने । सकारात्मक र उर्जावान् रहने ।

. शरीरमा अनावश्यक गाठागुँठी आएको छ, रंग परिवर्तन भएको छ भने तुरुन्त परीक्षण गराउने ।

.महिलामा स्तन र पाठेघरको क्यान्सरको जोखिम बढी हुन्छ । उनीहरुले बेलाबखतमा स्तन क्यान्सरको लागि मेमोग्राम र पाठेघरको लागि प्याप परीक्षण गराएर हेर्नुपर्छ ।  त्यस्तै, पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सकिन्छ ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech