नेपालगन्जः निमोनियाका धेरै कारणहरू हुन्छन्, त्यसमा पनि चिसो मौसममा निमोनियाको सम्भावना बढी हुन्छ । जाडोयाममा मौसमको आद्रता सुक्खा हुन्छ र प्रदूषण पनि बढी हुन्छ जसकारण ब्याक्टेरियाको संक्रमण गराउने वातावरण बन्छ । अन्य स्रोतमा भएका संक्रामक जीवाणुहरूबाट बच्न सकिने भएपनि हावामा भएका जीवाणुहरू श्वासप्रश्वास हुँदै फोक्सोसम्म पुग्नसक्छन् ।
यसरी भित्र पुगेका जीवाणुले फोक्सोको भित्तामा पुगेर आक्रमण गर्छन् र त्यहाँ तरल पदार्थ जम्मा हुनपुग्छ । यही अवस्था निमोनिया हो । निमोनियाले श्वासप्रश्वास प्रक्रियामा अवरोध उत्पन्न हुन्छ र अक्सिजनको कमी गराइ गम्भीर समस्या निम्त्याउनसक्छ । त्यतिमात्रै नभइ फोक्सोको केही भागले काम नगर्न पनि सक्छ ।
धेरैलाई लाग्छ छातीमा समस्या, अलि लामो समयको रुघाखोकी भएमा निमोनिया भएको हो । तर, प्रत्येक वर्ष व्यक्तिलाइ निमोनिया नदोहोरिएको हुनसक्छ । साधारण रुघाखोकी, छाती घ्याघ्यार हुने, दुख्नु मौसमी इन्फ्लुएन्जा पनि हुनसक्छ । अधिकांश बिरामीलाई खानपान र जीवनशैलीका कारण पनि संक्रमणजन्य समस्या देखिने गरेको छ ।
एकपटक गम्भीर संक्रमण भएपछि पनि जीवनशैली परिवर्तन नगर्ने, धुम्रपान मद्यपान गर्ने जंक फूडहरू धेरै खाने तथा सन्तुलित आहार नखाने बानीले उनीहरूमा थप समस्या निम्त्याएको देखिन्छ ।
तर, लामो समयसम्म घाँटी खसखस भइरहने, लहरेखोकी, खकारमा रगत देखा पर्ने शवासप्रश्वासमा अवरोध आउनेजस्ता समस्या भए तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्दछ । किनकी यस्ता समस्या लामो समय रहीरहेपछि औषधिले काम नगर्ने र कालान्तरमा फोक्सोको घातक समस्या भएर निस्कनसक्छ ।