नेपालगन्जः लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था विकराल देखिएको छ । जसका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ । ख्याउटेपन, पुड्कोपन र कम तौल भएका बच्चाहरूको अवस्थालाई हेर्दा लुम्बिनी प्रदेशमा पोषणको आधार नाजुक देखिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक वर्षको अवधिमा कुपोषणबाट ग्रस्त भएका १ हजार ९९२ जनाको उपचार भएको छ । यो तथ्यांक ५ वर्ष भन्दा कम उमेर समूहका बच्चाहरूको रहेको जनाइएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार कल्याण शाखा प्रमुख तथा पोषण फोकल पर्सन कौशल भण्डारीले कुपोषणका कारण एक वर्षमा ७ जनाको मृत्यु भएको पुष्टि गर्दै अस्पतालबाहिर समेत त्यस्ता बालबालिकाको मृत्यु भएको हुनसक्ने भएपनि तथ्यांक उपलब्ध नरहेको बताउनुभयो । अस्पतालमा उपचार गर्न नआउने र अन्यत्र जानेहरूको अवस्थाको रेकर्ड शाखामा आउँदैन ।
यो अस्पतालमा उपचार गराउनेको तथ्यांकमात्रै हो । प्रदेशका १२ वटै जिल्लामा कुपोषणका बिरामी भए पनि मृत्यु भने ५ जिल्लाका बालबालिकाको भएको उहाँको भनाइ छ । यसरी मृत्यु हुनेमा बाँके जिल्लाका २ जना रहेका छन् । यस्तै बर्दिया, पश्चिम नवलपरासी, प्युठान, कपिलवस्तु र रोल्पा जिल्लाका एकरएक जना बालबालिका रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सबै भन्दा धेरै कुपोषणका बिरामी बाँके जिल्लामा छन् । यस्तै सबै कम अर्घाखाँची र रुकुम पूर्वमा रहेका छन् । बाँके जिल्लामा ४२५ बिरामीले एक वर्षको अवधिमा उपचार गराएका छन् । यस्तै अर्घाखाँची र रुकुम पूर्वमा ५र५ जना बिरामी पाइएका छन् ।
कुपोषण बिरामी पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा धेरै देखिएका छन् । बर्दिया जिल्लामा २८६, दाङमा २३२, कपिलवस्तुमा ३१३, रुपन्देहीमा ३९५ ,पश्चिम नवलपरासीमा १९९ जना रहँदा पाल्पामा १०, गुल्मीमा ३४, प्युठान ३५ र रोल्पामा ४३ जना रहेका छन् ।