नेपालगन्जः लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा करिव ११ लाख जनसंख्या स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका संयोजक जनक बहादुर साउदले बताउनुभयो ।
योसंख्या प्रदेशको कुल जनसंख्याको २१ दशमलव ३३ प्रतिशत रहेको प्रदेशका संयोजक साउदको छ । प्रदेशको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका हुन् । बिमितमध्ये ५ लाख २४ हजार ७ सय ७० पुरुष, ५ लाख ६७ हजार ७ सय ८७ महिला र १ सय १७ जना अन्य समावेश छन् । यो हिसावले हेर्दा लुम्विनी प्रदेशमा २१ प्रतिशत जनसंख्या बीमामा आवद्ध भएका छन् । प्रदेशमा बाँकी ७९ प्रतिशत जनसंख्यालाई पनि बीमाको दायरामा ल्याउन पहल भइरहेको बीमा बोर्डका प्रदेश संयोजक साउदले बताउनुभयो ।
नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेपछि लुम्बिनी प्रदेशको पाल्पामा २०७३ सालमा यसको सुरुवात भएको हो । बिस्तारै अन्य जिल्लामा पनि कार्यक्रम लागु हुँदै २०७७ साल फागुनसम्म प्रदेशका १२ वटै जिल्लामा बीमा सेवा विस्तार भएको थियो । पाल्पामा २ लाख ३६ हजार ७ सय १७ जना स्वास्थ्य बिमित छन् । सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको स्वास्थ्य बीमा बोर्डको कार्यालयले जनाएको छ ।
रुपन्देही जिल्लामा १ लाख ६१ हजार ५ सय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ९६, गुल्मीमा १ लाख ७ हजार ३ सय १२, कपिलवस्तुमा १ लाख ४ हजार ४८, अर्घाखाँचीमा ८२ हजार १ सय १६, बाँकेमा ७१ हजार २ सय ५ बिमित छन् । यस्तै, प्युठानमा ६३ हजार ८ सय ८६, दाङमा ४५ हजार ३, नवलपरासी पश्चिममा ४४ हजार १ सय ६८, रोल्पामा ३८ हजार ९ सय ३९ बिमित छन् ।