नक्कली डाक्टर परे प्रहरीको फन्दामा

    • स्वास्थ्य पेज

  • ८ माघ २०८०, सोमबार

नेपालगन्ज: नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा एनएमसी नम्बर ९६७० राखेर खोजी गर्दा गोरखाकी एक जना एमबीबीएस डाक्टरको नाम आउँछ । तर, यही नम्बरको कार्ड बोकेर शम्बुद्ध भट्टाचार्यले कम्तीमा ३ वर्षदेखि बिरामी जाँचिरहेका थिए ।

उनीसँग त्रिवि शिक्षण अस्पताल, महराजगञ्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ । तर, अस्पतालमा काम कहिल्यै गरेका छैनन् । प्रहरीले उनको साथबाट ९ अक्टुबर २०१८ मा तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हस्ताक्षरसहितको प्रशंसा पत्र पनि बरामद गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन निर्देशक डा. ज्ञानेन्द्र गिरीले दिएको पत्र पनि भेटिएको छ ।

अनुसन्धानका क्रममा ती सबै कागजात नक्कली भएको फेला परेपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उनलाई पक्राउ गरेको छ ।कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, आइतबार अपराह्न ४ बजे उनलाई टोखा नगरपालिका–५, बसुन्धारास्थित धौलागिरी हिमाल पोलिक्लिनिक प्रालिबाट पक्राउ गरिएको हो ।

नक्कली कागजात प्रयोग गरेर बिरामी जाँच गरिरहेको पाइएपछि प्रहरीले इलाज र लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद लिएर उनीमाथी अनुसन्धान गरिरहेको छ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech