नेपालगन्जः जथाभावी औषधि सेवन र अनिच्छुक गर्भपतन गराउने अविवाहित र किशोरीको संख्या बढ्दो देखिएको छ । यो कैलालीको खवर हो । जथाभावी औषधि सेवन गर्ने तथा गर्भपतनको अनुमति नपाएका मेडिकल, क्लिनिक र निजी अस्पतालबाट गर्भपतन गराउनाले पाठेघरमा समस्या आउनुका ज्यानसमेत गुमाउनुपरेको घटना हुने गरेका छन् । गत महिना गर्भपतन जटिलताका कारण दुई महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कैलालीमा गत आर्थिक वर्षमा एक सय ८० महिलाले गर्भपतनको जटिलता भोग्नुपरेको स्वास्थ्य कार्यालयको तथ्यांक छ । गर्भपतनको जटिलता भोगेकामध्ये कतिपय गर्भपतनको अनुमति नपाएको स्वास्थ्य संस्थाबाट औषधि किनेर गर्भपतन गराउन खोज्नेहरू रहेका स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स आशा थापाले बताउनुभयो। असुरक्षित ठाउँमा गर्भपतन गराउन खोज्दा स्वास्थ्यमा जटिलता भोग्नुपरेका धेरै घटना रहेको उहाँको भनाइ छ ।
‘गर्भपतन गराउन मेडिकलबाट औषधि किनेर खाने र रक्तस्रावले स्वास्थ्यमा जटिलता देखिएपछि अस्पताल भर्ना हुनुपर्ने केसहरू छन्,’ उहाँले भन्नुभयो, ‘असुरक्षित गर्भपतनले जोखिम निम्त्याउने गरे पनि यो कार्य रोकिएको छैन ।’ लिंग परीक्षण, गोपनीयता, गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा पहुँच नहुनु, जानकारीको कमीलगायत कारणले कतिपयले मेडिकलबाट औषधि किनेर असुरक्षित रूपमा गर्भपतन गराउने गरेको उहाँको भनाइ छ ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा पाँच हजार १८१ महिलाले १२ हप्तासम्मको गर्भपतन गराएका थिए । त्यसमध्ये २० वर्ष उमेरमुनिका दुई सय ३७ जना छन् । त्यस्तै, सो अवधिमा दुई सय ९६ जनाले १२ हप्ताभन्दा माथिको गर्भपतन गराएका पब्लिक हेल्थ नर्स थापाले जानकारी दिइन् । १२ हप्तामाथिको गर्भपतन गराउनेमध्ये २० वर्षमुनिका ४० जना छन् । चालू आर्थिक वर्षको मंसिरसम्ममा दुई हजार २३२ जनाले गर्भपतन गराएका छन् ।
गर्भपतन गराउने २० वर्षमुनि संख्या एक सय १३ र १२ हप्तामाथिको गर्भपतन गराउने संख्या एक सय ३६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पब्लिक हेल्थ नर्स थापाका अनुसार गर्भपतन गराउनमध्ये अविवाहित र किशोरी पनि छन् । सरकारले १२ हप्तासम्मको गर्भपतन गराउने मान्यता दिएको छ । त्यो पनि सूचीकृत स्वास्थ्य संस्थामा मात्र गराउन पाइन्छ । हाडनाता करणी तथा गर्भका कारण महिलाको स्वास्थ्यमा जटिलता आउने अवस्थामा मात्र १२ हप्तामाथिको गर्भपतन गराउन पाउने व्यवस्था रहेको थापाले बताउनुभयो ।