कोहलपुरः कोहलपुर नगरपालिकाले आकस्मिक गर्भ निरोधक सेवालाई प्रभावकारी बनाउँदै लैजान थालेको छ । आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग गरी अनिच्छित गर्भलाई न्यूनीकरण गर्नका निमित्त आकस्मिक गर्भ निरोधक सेवालाई प्रभावकारी बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार आकस्मिक गर्भ निरोधक सेवा संचालन तथा आकस्मिक गर्भ निरोधक चक्की सम्बन्धी अभिमुखिकरण कार्यक्रममा नर्सिङ स्टाफ, महिला स्वास्थ्य स्वयमसेविका, किशोरीलगायतलाई बोलाएर यसबारेमा जानकारी गराएको छ । उनीहरुले प्राप्त जानकारी अरुलाई समेत प्रवाह गरेर गर्भ निरोधक सेवालाई प्रभावकारी गराउन भूमिका खेल्ने कार्यक्रमकी फोकलपर्सन लोकमाया भारतीले जानकारी दिनुभयो ।
अनिच्छित गर्भ रोक्नका लागि कण्डम, पिल्स, डिपो, इनप्लान्ट तथा आयुसीडि जस्ता अस्थायी साधनको प्रयोगको बारेमा समेत सचेतना फैलाउन जरुरी रहेको उहाँले जानकारी दिनुभयो । आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोगलाई सहज र सरलीकृत बनाउँदै यसको पहुँच लक्षित वर्गमा बढाउन अभिमुखिकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिल सेन ठकुरीले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले यस्ता सेवाहरु आपत्तकालीन अवस्थामा हुने भएकाले त्यसैअनुसारको सेवा प्रवाह गरिनुपर्नेमा जोड दिनुभयो। आकस्मिक गर्भ निरोधक चक्की कोहलपुर नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुबाट निशुल्क प्राप्त गर्न सकिन्छ ।अभिमुखिकरण कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक ठकुरीसहित स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन कार्यक्रमका फोकलपर्सन देव नारायण उपाध्यायले गर्नुभएको थियो ।