कोहलपुरः कोहलपुर नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण सुरु गरेको छ । वडा नं.१ देखि १५ सम्मका ७५ जना विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा (बल्याङ्केट) वितरण गर्न सुरु गरिएको कोहलपुर नगरपालिका महिला, बालबालिका तथा समावेशीकरण उपशाखा प्रमुख घटना शाहले जानकारी दिनुभयो । कोहलपुर नगरपालिका वडा नं.११ बाट ७४ वर्षीय लादी थारुलाई नगर उपप्रुमख संगिता सुवेदीले बल्याङ्केट प्रदान गर्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
उहाँले विपन्नमा पनि अति विपन्न जेष्ठ नागरिकलाई जाडोमा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले न्यानो कपडा प्रदान गरिएको बताउनुभयो । उहाँले सकेसम्म सबै जेष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिएपनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर बल्याङ्केट प्रदान गर्नु परेको उल्लेख गर्नुभयो । यस्तै वडा नं.११ की वडाअध्यक्ष कल्पना अधिकारीले आवश्यकताको पहिचान गरेर व्यक्तीहरु छनौट गरि न्यानो कपडा प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँले वडाले पहिचान गरेका गरिवमा पनि अति गरिव जेष्ठ नागरिकलाई चिसोबाट जोगाउन केहीहद सहज होस् भन्ने उद्देश्यले पालिकाले सहयोग गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । अत्यधिक चिसोका कारण सकसपूर्ण जीवन ज्यूँन बाध्य जेष्ठ नागरिकले बल्याङ्केट पाउँदा खुसी व्यक्त गरेका थिए । उपशाखाले पहिलो दिन आज १० वटा वडाका ५० जना विपन्न जेष्ठ नागरिकलाई बल्याङ्केट वितरण गरेको उपशाखामा कार्यरत तारा भण्डारीले जानकारी दिनुभयो ।
पर्सि आइतवार वडा नं.३, १०, १२, १४ र १५ का विपन्न जेष्ठ नागरिकलाई बल्याङ्केट वितरण गर्ने योजना उपशाखाले बनाएको छ । एउटा वडामा पाँच जनाका दरले १५ वटा वडामा ७५ जना विपन्न जेष्ठ नागरिकको पहिचान गरी बल्याङ्केट वितरण गर्न सुरु गरिएको उपशाखा प्रमुख शाहले बताउनुभयो । उहाँले वडाको सिफारिसका आधारमा व्यक्तिको पहिचान गरिएको पनि उल्लेख गर्नुभयो । त्यसका लागि पालिकाले दुई लाख बजेट विनियोजन गरेको थियो ।