चिसोले बालबालिका बिरामी पर्न थाले, राप्तीसोनारी र डुडुवाले पनि दिए जाडो विदा

    • स्वास्थ्य पेज

  • ४ माघ २०८०, बिहीबार

गोविन्द प्रकाश रोका ।

नेपालगन्जः अत्यधिक चिसो बढेपछि बाँकेका राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाले पनि विद्यालयमा जाडो विदा दिएका छन् । बालबालिकाहरुलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरुले भोलिदेखि जाडो विदा दिएका हुन् । राप्तीसोनारी गाउँपालिकाले आज सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण भोलि शुक्रबार र आइतवार दुई दिन विद्यालयमा जाडो विदा दिइएको जनाएको छ ।

‘अत्यधिक जाडोका कारण विद्यालयमा अध्ययन र अध्यापन गर्न गराउन कठिनाई भएकाले आइतवारसम्म पठनपाठन स्थगीत गराउन विद्यालयलाई आग्रह गरिन्छ’ सूचनामा भनिएको छ । यसैगरी डुडुवा गाउँपालिकाले पनि आज नै सूचना निकालेर आइतवारसम्म विद्यालय बन्द गरिएको जानकारी दिएको छ । शुक्रबारदेखि लागू हुने गरी विद्यालयमा जाडो विदा दिइएको उल्लेख गर्दै मौसम अनुकूल भए सोमवारबाट विद्यालय नियमितरुपमा संचालन हुने पनि पालिकाको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले आजदेखि नै विद्यालय बन्द गरेका छन् । अत्यधिक चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् । रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखालाले जाडोमा बालबालिकालाई बढी सताउन थालेको चिकित्सकहरुले बताएका छन् ।

‘रुघाखोकी गराउने किटाणु चिसोमा बढी सक्रिय हुन्छ बालरोग विशेषज्ञ डा.रोमा बोराले भनिन्–‘यो किटाणु जाडोमा लामो समयसम्म पनि बाँच्न सक्छ । जसका कारण बालबालिकालाई बढी समस्या निमत्याउन सक्ने जोखिम रहन्छ ।’

रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका बढी जोखिममा पर्छन् । यस्तै कुपोषण भएका, पूर्ण खोप नलगाएका, सरसफाईमा कमी भएका बालबालिका पनि जोखिममा पर्ने गरेका छन् । खासगरी विपन्न तथा गरीव समुदायका बालबालिकाहरु चिसोको सकसमा परेका छन् ।

  • ४ माघ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech