कोहलपुरः सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौवस्ता बाँकेले आज वृह्त रक्तदान गरेको छ । २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा तालिम शिक्षालयले नेपाल रेडक्रस सोसाईटी प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । त्यसक्रममा शिक्षालयका एक सय जना कर्मचारीले रक्रदान गरेको शिक्षालयका सह समादेशक सशस्त्र प्रहरी उपरीक्षक संजय भट्टराईले बताउनुभयो ।
रक्तदान जीवनदान भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै शिक्षालयले वार्षिक दुई पटक रक्तदान गर्दै आएको छ । शिक्षालयभित्रकै कर्मचारीहरुलाई रक्तदानका लागि प्रेरित गर्न वर्षमा दुई पटक रक्तदान गर्ने गरिएको पनि उहाँले जानकारी दिनुभयो । नियमित रक्तदानसँगै आवश्यक परेको बेला पनि सशस्त्र प्रहरी कर्मचारीले रक्तदान गरेर मानवीय सहयोग गर्दै आएको पनि उहाँले बताउनुभयो ।
उक्त रक्तदान कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रविण कँडेल तथा नेपाल रेडक्रस जिल्ला शाखाका रक्तसंचार प्राविधिक राजेन्द्र कुमार महतराले रक्तदानको महत्वबारे आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।