नसर्ने रोगको अवस्था भयावह, मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था चिन्ताजनक

    • स्वास्थ्य पेज

  • ३ माघ २०८०, बुधबार

नेपालगन्जः नेपालमा नसर्ने रोगको बोझ बर्सेनि बढ्दै गएको अध्ययनले देखाएको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको मंगलबारको बैठकमा डा रोशन पोख्रेलले मुटुसम्बन्धी रोग र मधुमेहको अवस्था भयावह बन्दै गएको तथ्यांक प्रस्तुत गर्नुभयो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण (एनडीएचएस)ले सन् १९९७ देखि २०१७ सम्म आइपुग्दा नसर्ने रोगको बोझ २० प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको देखाएको थियो । सन् २०२३ सम्म आइपुग्दा मुटुसम्बन्धी रोग, मधुमेह क्यान्सर र मिर्गौला रोगका कारण यो दर उच्च भएको स्वास्थ्य सचिव डा पोख्रेलको भनाइ छ ।

एनडीएचएस २०१९ अनुसार वार्षिक ७१ प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । स्टेप सर्भे २०१९ को रिपोर्टअनुसार नेपालमा नसर्ने रोगको ३० प्रतिशत हिस्सा मुटुसम्बन्धी रोगले ओगटेको छ, जसमा सबैभन्दा धेरै उच्च रक्तचाप छ । रिपोर्टअनुसार २९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या देखिएको छ । उच्च रक्तचाप देखिएकामध्ये ९०.५ प्रतिशतले उपचार नगरेको पाइएको छ । यो तथ्यांक चुनौतीपूर्ण भएको डा.पोख्रेलको भनाइ छ । त्यस्तै, नसर्ने रोगमध्ये चार प्रतिशत जनसंख्याको मृत्युको कारण मधुमेह देखिएको छ ।

यो दर सन् २०३० सम्म ३० प्रतिशत पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ । त्यस्तै, सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ खानपान, मोटोपना, मद्यपान, वायु प्रदूषण जस्ता कारण पनि नसर्ने रोगका प्रमुख कारक बनिरहेको मन्त्रालयको तथ्यांक छ । हाल नेपालको जनसंख्यामध्ये २८.९ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको र यो श्वासप्रश्वासजन्य तथा क्यान्सरको प्रमुख कारण बनेको मन्त्रालयको तथ्यांक छ ।

९६ प्रतिशत नेपालीले भने पर्याप्त मात्रामा सागसब्जी र फलफूल नखाने गरेको पाइएको छ । ५३.६ प्रतिशतले सिफारिसअनुसार व्यायाम गर्दैनन् भने २४.३ प्रतिशत जनसंख्यामा तौल बढी रहेको छ । २०.८ प्रतिशतले मद्यपान गर्नु पनि नसर्ने रोगको अर्को मुख्य कारण भएको मन्त्रालयको तथ्यांक छ ।

  • ३ माघ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech